इटहरीः सुन्दरहरैँचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमा नगरपालिकाका कर्मचारीले हाजिर गर्न नपाएको भन्दै स्टाटस पोष्ट गरेपछि नगरपालिकामा वितण्डा मच्चिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीलाई हाजिर गर्न नदिएको र रक्सिको वील नतिरिन्जेलको लागि इ–हाजिरी पनि उखेलेर फालेको भन्दै पूर्व मेयर शिवप्रसाद ढकालले फेसबुकमा स्टाटस पोष्ट हालेपछि स्वतन्त्र युवा अभियान नेपालका अभियान्ताहरुले आइतबार नगरप्रमुख केदारप्रसाद गुँरागाई र प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईसँग भेट गरेका छन् ।
भेटमा आफुहरुले कर्मचारीलाई हाजिर गर्न नदिएको भन्ने बिषयमा मेयर र कार्यलय प्रमुखसँग बसेर कुरा गरेको तर यसको ठोस प्रमाण नभएको भन्दै प्रमाण लिएर आउन मेयर गुँरागाईले अनुरोध गरेको अभियान्ता सरोज नेपालले बताए ।
मोरङ्ग क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्वार बनेका नेपाल सहितको अभियान्ताहरुको समुहले नगरपालिकामा हुने गरेको बिभिन्न ढिलासुस्तिहरुको बिषयमा समेत नगरप्रमुख र कार्यलय प्रमुखसँग चासो राखेको थियो ।
आफुहरुले सेवाका लागि ३ महिना देखि चाहारिरहेका सेवाग्राहीले सेवा नपाएको समेत अवस्था देखेको अभियान्ता नेपालले बताएका छन् । तर कार्यालय प्रमुखले भने सेवामा ढिलासुस्ती नभएको दावी गरेका थिए ।
टोलीले नागरिकले पाउने सेवा सुविधा र सामाजिक सञ्जालमा आइरहेका विभिन्न विषयमा हुने टिप्पणीका बारेमा समेत नगरपालिकालाई ध्यानाकर्षण गराएको थियो । सेवा प्रवाहमा ढिलासुस्ती भएको भनी नागरिकले गुनासो राखेपछि आफूहरु नगरपालिकामा बुझ्न आएको अभियन्ता नेपालले बताए ।
छलफलमा चासो व्यक्त गरेका विषयमा जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत थापाले हाजिर सबैले गरेको, ई–हाजीरी चलिरहेको र सामाजिक सञ्जालमा आएको विषयका बारेमा प्रमाणसहित आउन आग्रह गरेका थिए ।
तीन लाख रुपैयाँको रक्सीको बिलका सम्बन्धमा प्रमाणसहित आउन आग्रह गरिएको अभियान्त नेपालले बताए ।
आफुहरुले भोली सोमबार पूर्व नगरप्रमुखसँग पनि भेटेर घटनाको सत्य तथ्य बुझ्ने कार्यक्रम रहेको नेपालले बताएका छन् ।