महोत्तरीः महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा.पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा। पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गरेका थिए ।  श्रीमतीले उनी विरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिएका थिए । 

महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले थुनुवामा रहेका  डा. पङ्कजविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा चलाउने तयारी भइरहेको बताए । 

काठमाडौँको ग्रान्डी अस्पतालमा जनरल फिजिसियनको रूपमा कार्यरत डा. पङ्कजले दाइजोमा काठमाडौँमा घर माग गर्दै श्रीमती नेहालाई पटकपटक कुटपिट गरेर घर निकाला गरेका थिए ।  मङ्गलबार दिउँसो डा. पङ्कजको घरमा बस्न श्रीमती नेहा चौधरी पुगे पनि पति, ससुरा र सासूले उनलाई भित्र प्रवेश नदिएपछि नेहा त्यहीँ धर्नामा बसेकी थिइन् ।  नेहाको धर्नापछि प्रहरीले डा. पङ्कजलाई पक्राउ गरेको जनाइएको छ । 

नेहा काठमाडौँमा कक्षा ११ मा पढ्दै गर्दा डा. चौधरीसँग प्रेममा परेक थिइन् । त्यतिबेला चौधरी एमबीबीएसमा अध्ययनरत थिए । प्रेममा परेको तीन वर्षपछि गत फागुनमा उनिहरूबीच परम्पराअनुसार विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी एक करोडभन्दा बढी रुपियाँ दाइजो दिएको थियो ।  पछिल्लो समय पङ्कजले काठमाडौँमा घर दाइजो दिनुपर्ने भन्दै श्रीमतीलाई यातना दिँदै आएको आरोप छ ।   गोरखापत्रबाट