कास्कीः सडक सञ्जालको विस्तारले पदयात्रा मार्ग मासिन थालेपछि पर्यटकको आगमन र बसाइ अवधि घटेकोप्रति पर्यटन व्यवसायी चिन्ता व्यक्त गरेका छन् । सडक सञ्जालका कारण अन्नपूर्ण क्षेत्र र धौलागिरि क्षेत्रका थुप्रै पुराना र चर्चित पैदल मार्ग मासिन थालेका हुन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष सुशीलराज पौडेलले सडक मार्गका कारण अब व्यवसायीले व्यवसाय गर्ने ठाउँ कहाँ हो भन्ने प्रश्न उब्जिएको बताए । पदयात्रा मासिँदा नेपाल किन आउने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै उनले यी पद मार्ग र प्राकृतिक सुन्दरताको संरक्षण नै पर्यटन प्रवद्र्धन हो भन्ने हिसाबले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

 झन्डै तीन हप्ता लामो अन्नपूर्ण चक्रीय पदमार्गसमेत एक हप्तामा खुम्चिएको र म्याग्दीको घोरेपानी पुग्ने पदमार्गलगायत अन्य दर्जनौँ पर्यटकीय मार्ग छोटिने र मासिने क्रममा रहेको उनले बताए । 

टान गण्डकीका पूर्वअध्यक्ष एवं सल्लाहकार टीकाराम सापकोटाले पोखरा आउने पर्यटकमध्ये ६० प्रतिशत पदयात्रामा जाने गरेकामा अहिले त्यस्तो दर निकै घटेको बताए । यस क्षेत्रको पदयात्रा प्रकृतिमा आधारित भएको भन्दै उनले क्याम्पिङमा आधारित पदयात्री पनि घटेको सुनाए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको पोखरामा आयोजित २९औँ साधारण सभा तथा १७औँ अधिवेशनका अवसरमा टानका केन्द्रीय अध्यक्ष नीलहरि बास्तोलाले बन्द भएका टिम्स काउन्टर खुलाउन सबै मिलेर पहल गर्नुपर्ने र त्यस्तो वातावरणका लागि सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुराना पदयात्रा मार्ग मासेर  सवारीसाधन गुड्ने क्रमले पर्यटकलाई हिँड्ने वातावरण नभएको बताए । अहिलेको चुनौती पर्यटकको बसाइ अवधि लम्ब्याउनु पनि भएको बताउँदै उनले फेवातालको दक्षिणपट्टि सिसाको पुल हालेर रानीवन हुँदै अगाडि बढ्ने पदमार्ग विकासका लागि अध्ययन कार्य भइरहेको जानकारी दिए । 

पुस १७ गते अर्थात् जनवरी १ का दिन पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै त्यसलाई दिगो र प्रभावकारी ढङ्गले चलाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनले बताए । मादी गाउँपालिकाका प्रमुख देवीजङ्ग गुरुङले पदयात्रा र वातावरण संरक्षणका लागि अब गाउँपालिकामा नयाँ सडक नखनिने निर्णय भएको अवगत गराए । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।