इटहरीः आज शुक्रबार गुरुङ समुदायले  ‘तमु ल्होसार’ पर्व धुमधाम मनाउँदैछन् । १५ पुसमा मनाइने तमु ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा समेत दिएको छ । 

यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।  तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । सबैको ल्होसार फरक फरक हुन्छ र फरक ढंगले नै मनाउने गरिन्छ ।