चितवनः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् ।

नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको जनाए ।

प्रधानमन्त्री दाहालले भने, “मैले बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उनले भने, “यो कार्यकालमा मैले भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

शिक्षाको गुणस्तरले नै राष्ट्र र समाजमा आम नागरिकको जीवन पद्धति निर्धारण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र विकासको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उनले थपे, “शिक्षाको गुणस्तरद्वारा नै एउटा अनुशासित र सत्य समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रुपमा अघि बढाउन सकिन्छ ।”

NA_CHITAWAN_PRACHANDA_SCHOOL-1536x1024

स्वर्ण वर्षको कार्यक्रममा आफू उपस्थित भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कुरामा आफ्नो ठाउँबाट सहयोग र्पुयाउने बताए । कार्यक्रममा उनले विद्यालयमा विशिष्ट योगदान र्पुयाउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा हीरक द्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचन समेत उनले गरे ।

कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रुपमा पठनपाठन सुरु गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ । रासस