इलामः प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ ।
हालै सरकारले देशका उत्कृष्ट १ सय पर्यटकीय क्षेत्र घोषणा गरेको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ ।
हिउँद महिनामा दैनिक हजारौ पर्यटक कन्याममा आउने गरेका छन् । तर, कन्यामको ३ किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा घुम्न आउनेहरू खुला क्षेत्रमा शौच गर्न बाध्य हुने गरेका हुन् ।
खुला दिसामुक्त क्षेत्रको उपहास
त्यसो त कन्याम खुला दिसामुक्त क्षेत्र हो । घरघरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि पर्यटकीय क्षेत्रमा शौचालय नबनाइँदा खुला दिसामुक्त क्षेत्रकै उपहास भएको पाइन्छ । पर्याप्त पूर्वाधर, खानेपानी र शौचालयको समस्या यहाँका मुख्य समस्या रहेका छन् ।
पार्किङको पनि समस्या
खानेपानी र शौचालयको समस्या झेलिरहेको कन्याममा पार्किङको पनि समस्या छ । घुम्न आएका पर्यटकले प्रयोग गरेका गाडी भने विद्यालयमा पार्किङ हुने गरेको छ ।
अन्तुमा पनि समस्या
सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात सूर्याेदय नगरपालिकाको अन्तु पर्यटकीय क्षेत्रको समस्या पनि कन्यामको भन्दा फरक छैन ।
सूर्योदय दृश्यावलोकन गर्न अन्तु पुग्ने पर्यटकले डाँडामा चढ्नु अघि पार्किङको समस्या बेहोर्ने गरेका छन् । त्यस्तै, पानी तथा शौचालयको समस्या पनि रहेको छ । मौसम सफा भएको हिउँदको महिनामा दैनिक ७ हजार हाराहारी पर्यटक पुग्ने अन्तुडाँडामा एउटा मात्रै शौचालय रहेको छ । सार्वजनिक शौचालय र पार्किङ नै अन्तुका प्रमुख समस्या भएको पर्यटक बताउँछन् ।
फिक्कलमा पनि समस्या
पर्यटकले सामान खरिद गर्ने केन्द्रको रूपमा रहेको फिक्कल बजारमा पनि व्यवस्थित शौचालय छैन । उचित व्यवस्थापन नहुँदा भएको एउटा सार्वजनिक शौचालय पनि प्रयोग गर्न नसक्ने अवस्थामा छ । सरसफाइ हुन नसक्दा दुर्गन्धका कारण सो शौचालयमा शौच गर्नभन्दा खुला क्षेत्रमा शौच गर्न आगन्तुक तयार देखिन्छन् ।