कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउली लगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँ ठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्छन ।

“जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ”, उनले भने, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।”

रातमा परिवारका सदस्य एक दुई घण्टा मात्रै सुत्ने गरेको उनले बताए । नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उनको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जगाउने नसकिएको मानबहादुर रानाले बताए ।

निकुञ्जबाट हुलका हुल जनावर आउने भएकाले खेतमा लगाएको बाली जोगाउन निकै मुस्किल भएको पूर्व वडाअध्यक्ष बाले रानाले बताए ।

जनावरले बाली खाएर हैरान पारेसँगै पछिल्लो समय हात्तीले पनि सताउन थालेको छ । उनले भने, “हात्ती पनि आउन थालेपछि ज्यान जोगाउनै मुस्किल हुन थालेको छ ।” रानाका अनुसार मङ्गलबार दिनभर हात्ती उखुबारीमै बस्यो, धपाउने अनेक उपाय अपनाए पनि गएन, तीन बिघा जग्गामा लगाएको उखुमध्ये १० कट्टाको पूरै तोडेर र खाएर नोक्सानी र्गयो, राति नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगाइयो ।

हात्ती निकुञ्जमा फर्किए पनि पुनः बस्तीमा आउने डर भएको क्षेत्रका बासिन्दा निकै त्रसित अवस्थामा रहेको उनले बताए । वडाध्यक्ष नवलसिंह राना जङ्गली जनावरले निकै सताउन थालेकाले निकुञ्ज कार्यालयले नियन्त्रणको प्रयास गर्नुपर्ने बताउछन् ।

हिउँदको बेला मात्रै नभएर निकुञ्जका जनावर स्याली नदीमा बाढी आएका बेलासमेत खेतमा पस्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । धान, गहुँ लगायतका बाली पूरै जङ्गली जनावरले सखाप पार्न थालेपछि केही किसानले उखु खेती गर्न थालेका छन् । उखु पनि हात्तीले खान थालेपछि किसान निकै निरास भएका छन् । रासस