लहानः  कर्जन्हा नगरपालिका–२ स्थित बाबातालमा प्रत्येक शनिबार आन्तरिक र बाह्य पर्यटकको भीड लाग्न लागेको छ। डेढ दशकअघि गाउँमा पस्ने पानी रोक्ने उद्देश्यले खनेको ठूलो पोखरी तालमा परिणत भएर पर्यटकीय केन्द्र बनेको छ।  

पहाडबाट झरेको पानी पसेपछि बाढीको समयमा बन्दीपुर गाउँको बस्ती उठीबास हुने गथ्र्यो। २०६१ सालमा स्थानीय समाजसेवी काशीराज दाहालको पहलमा जर्मनीको जेटीजेड कार्यक्रमअन्तर्गत पूर्व–पश्चिममा रहेको पहाडको अग्लो डाँडालाई दक्षिणबाट ठूलो डिल हुने गरी पोखरी खनिएको थियो। दुई वर्षपछि ठूलो पोखरी बनेर बाबातालको रूपमा प्रख्यात भएको छ। ताल हेर्न र घुम्न आउने पर्यटक बढिरहेको बाबाताल संरक्षण समितिका अध्यक्ष अञ्जनी दाहालले जानकारी दिए ।  

मधेश प्रदेश सरकार र पर्यटन बोर्डको लगानीमा आरती बाबा दर्शनटुप्पो निर्माण र सौन्दर्यीकरण गरेपछि प्रत्येक शनिबार पर्यटकहरूको भीड लाग्ने गरेको छ। तालभन्दामाथि डाँडामा महादेवको मन्दिरमा आरती गर्न भक्तजनहरू आउने गरेका छन्। पर्यटकलाई रमाउन निर्माण गरिएको दर्शनटुप्पोको नामकरण आरती बाबा भ्यु टावर राखिएको छ। 

नेपाली सेनाले ताल निर्माणका लागि अथक मेहनत गरेको भन्दै स्थानीयले प्रशंसा गर्ने गरेका छन्। तालमा डुङ्गा सयर गर्ने गरिएको छ। छवटा डुङ्गाबाट प्रत्येक शनिबार न्यूनतम पाँच हजार आम्दानी भइरहेको र दर्शनटुप्पोबाट पनि त्यत्तिकै रकम आम्दानी हुन थालेको अध्यक्ष दाहालले जानकारी दिए ।  यो क्षेत्र प्रेम विवाह गर्न आउने गन्तव्य स्थलसमेत बनेको छ।  

भारतको मधुवनी दरभङ्गा र पश्चिम बङ्गालका सिलिगुडी प्रदेश १ का उदयपुर, खोटाङ र मधेश प्रदेशका आठवटै जिल्लाका पर्यटक आउन थालेको कर्जन्हा नगरपालिका–२ का वडाध्यक्ष जगनाथ यादवले बताए । 

मधेश प्रदेश सरकार, सङ्घीय सरकार र कर्जन्हा नगरपालिकाको प्राथमिकतामा समेत परिसकेको छ। बाबातालको विकासका लागि बजेट व्यवस्थापन गरी मधेश प्रदेशको नमुना पर्यटक स्थलका रूपमा विकास गरिने कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलले विश्वास व्यक्त गरेको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।