इटहरीः खुल्ला सिमाबाट चोरी निकासिमा लागेको भन्दै ११ जना विरुद्ध विराटनगर भन्सार कार्यलयमा उजुरी दर्ता भएको छ । 

मंसिरमा  विराटनगर–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्ने ११ जना विरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता भएको हो । 

राती गस्तीमा रहेका भन्सारका कर्मचारीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको अवस्थामा आक्रमण गर्नेहरु मध्ये एक जनाको पहिचान भएको छ भने बाँकि फरार भएको बताइएको छ  ।  

भन्सार कार्यालयका कर्मचारीमाथि मंसिर २३ गते राती आक्रमण प्रयास भएको थियो । भन्सार कार्यलयले सिसी भिभी फुटेजका आधारमा त्यसको तीनदिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई पक्राउ गर्न सफल भएको थियो भने बाँकि दश जना फरार नै रहेको बताइएको छ । 

भन्सार कार्यालयले सद्दामलाई सात लाख ५० हजार रुपिँया धरौटी लिएर तारेखमा छोडेको छ । भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाका अधिकृत प्रेम सुवेदीका अनुसार अनुसन्धानका क्रममा देखिएका बाँकी दशजना अहिलेसम्म फरार रहेका छन् । सद्धामसँगै रहेको टोलीले कर्मचारीमाथि आक्रमण गरेको खुलेपछि एकपटक ११ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

भन्सार कार्यालयले फरार रहेका बाँकी दशजनालाई नियन्त्रणमा लिएर बुझाउन जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार समेत गरिसकेको छ ।