इटहरीः संखुवासभामा निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी हेलिकोप्टर सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकप्टर नियन्त्रणमा लिएको हो ।
भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।
प्रहरीले हेलिकप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए । उनका अनुसार हेलिकप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको थियो । प्रहरीले भने यस घटनाबारे गृहलाई पत्र लेखी पठाउन लागेको र गृहकै निर्देशन अनुसारको कामकारबाही गरिने जनाएको छ ।