काठमाडौंः  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको १८ मिनेटमै यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट आज बिहान १० बजेर ३२ मिनेटमा उडेको विमान १० बजेर ५० मिनेटमै दुर्घटनामा परेको हो ।

विमान १० बजेर ५० मिनेटसम्म पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

प्राविधिक समस्याबारे केही भनेका थिएनन् चालकले

दुर्घटनामा परेको विमान उडाइरहेका चालकले पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको अन्तिम समयसम्म पनि केही प्राविधिक समस्याको बारेमा कुरा गरेका थिएनन् ।

विमानस्थलका प्रवक्ता सिटौलाका अनुसार टावरसँग सम्पर्कमा रहेको अन्तिम समयसम्म विमान चालकले प्राविधिक समस्याको बारेमा केही भनेका थिएनन् ।

उनले भने, “अन्य कुरापछि अनुसन्धाको क्रममा थाहा होला । तर, बिहान उड्नुअघि पनि विमानको सबै प्राविधिक चेकजाँचसहित विमान उडेको थियो । टावरसँग सम्पर्कमा रहेको अन्तिम समयसम्म पनि कुनै समस्या पाइलटले भनेका थिएनन् ।”

ज्यान गुमाउनेमा ५३ नेपाली अन्य विदेशी

विमान दुर्घटनामा ज्यान गुमाउने अधिकांश नेपाली नै रहेका छन् । ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७३ जना सवार विमान दुर्घटनामा नेपाली ५३, भारतीय पाँच, रुसी चार, आइरिस, अस्ट्रेलियाली, अर्जेन्टिनी र फ्रान्सेली एक–एक जना तथा कोरियाली दुई जना छन् ।  विमानमा सवार रहेका केहीका उद्धार गरिएको थियो भने केही बेपत्ता छन् ।

शव काठमाडौं ल्याउने विषयमा छलफल

विमान दुर्घटनामा परेका सबैको शव काठमाडौं ल्याउने विषयमा छलफल चलिरहेको सिटौलाले बताउनुभयो । अहिलेसम्म विमान दुर्घटनाका शवलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । यो खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।