इटहरीः जहाज बन्ने सपना उनले तव मात्रै बुनेकी हुन जव उनका श्रीमानको जहाज दुर्घटनामै निधन भयो । सन् २००६ को यति एयरलाइन्सकै जहाज दुर्घटनामा पति पाइलट दीपक पोखरेलको निधन भएपछि आफु पनि पाइलट नै बनिछाड्ने सपना बोकेर घरबाट निस्किएकी विराटनगरकी अञ्जु खतिवडा सफल पाइलट बन्न नपाउँदै आइतबार सदाका लागि अस्ताएकी छन् । यस्तो अनौठो संयोग विरलै हुन्छ । जे नहुनु थियो । आइतबार अञ्जु र उसका परिवारका लागि त्यही भईदियो । जुन घटना हृदयविदारक छ ।
कास्कीको पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा को–पाइलट रहेकी अञ्जुले आइतबारै क्याप्टेनको परिक्षण उडानमा सफल भएको प्रमाणपत्र पाउने दिन थियो । आइतबारको जहाजका मुख्य पाइलट कमल केसी अञ्जुका प्रशिक्षक पाइलट थिए भने अञ्जु को–पाइलट थिइन ।
आइतबारको उडान पछि क्याप्टेनको परिक्षणमा सफल भएको प्रमाणपत्र पाएर एकड हेण्डलको जिम्मेवारी पाउने अञ्जुको सपना आइतबारबाटै सदाका लागि समाप्त भएको छ ।
२०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी अञ्जुले अमेरिका गएर पाइलट अध्ययन गरेकी हुन । उनका बुवा आमाले अञ्जुलाई नर्सिङ्ग पढाउन चाहान्थे तर उनले आफ्ना पतिको मृत्यु पछि पाइलट बन्ने सपना बुनेकी थिइन । एक छोरीकी आमा अञ्जु का पति दिपक पोखरेलले २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सहादत प्राप्त गरेका थिए ।
आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमानको सपना पूरा गर्ने निधो गरिन् र आफ्ना बुवा आमाको चाहना नासेर पाइलट पढ्न तिर लागिन तर आज उनको सपना पुरा गर्ने अर्को सपना समेत अधुरो रहन पुग्यो ।
भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । आज भएको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् । तर, आजको उडानलाई उनले सफलतापूर्वक सम्पन्न गर्न सकिनन् । अर्थात् उनको सफल पाइलट बन्ने सपना पूरा हुन पाएन ।
पोखरामा भएको दुर्घटनामा उनी अहिलेसम्मको हराईरहेकी छन् । उद्धारकर्ताहरुले खोजी र उद्धार कार्य जारी रहेको बताएका छन् । अञ्जुकी एकमात्र छोरी क्यानडामा अध्ययनरत रहेको पारिवारिक स्रोतले बताएको छ ।
अञ्जु दुर्घटनामा परेको समाचारसँगै विराटनगरस्थित उनको घर शोकाकुल अवस्था छ । बुबा गोविन्द खतिवडा लगायत सबै विलौना गरिरहेका छन् ।घरमा आफन्त, छरछिमेकीहरुको भीड लागेको छ । अञ्जु पाइलट बन्ने ध्याउन्नमा लागेपनि बेला बेला घर आउँदा सामाजिक कार्यमै निकै सक्रिय हुने गरेकी थिइन् । दुःख पाएका मानिसहरुलाई भित्री मनबाटै सहयोग गर्नु पर्छ भन्ने स्वाभाविक उनलाई गुमाउँदा उनका आफन्त , छरछिमेकी र साथीभाई शोकमा डुबेका छन् । परिक्षण उडानको क्रममा अञ्जुले अहिले सम्म विराटनगर , भद्रपुर, लगायत विमानस्थलमा सफल उडान गरिसकेकी थिइन ।