गण्डकीः पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ । दुर्घटनामा परेर दुई चिकित्सक दम्पतीको निधन भएको छ ।
वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान पोखराको सेती खोचमा बिहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उनीहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए ।
पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।
अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा जाँदैथिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे ।
सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भएकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।
डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका थिए । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुन् ।
“दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन् ।
घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पती छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार–चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ । रासस