पोखराः आइतबार बिहान पोखरामा भएको यति एयर लाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ । तीनजनाको शव सेतीको खोँचमा देखिएको छ तर माथि ल्याउन सकिएको छैन भने छजना यात्रुको अवस्था भने अझै अज्ञात रहेको छ ।
उद्धार कार्यको नेतृत्व गर्दै आएको नेपाली सेनाको पश्चिम पृतनालयका पृतनापति उपरथि दिपककुमार बानियाँले भने, ‘‘समाचार माध्यममा आएका तथ्य सबै सही छैनन्, आइतबार राती ९ बजेसम्म खोँचबाट निकालेर ६३ वटा शव अस्पताल लगिएको छ, तीनवटा शव सेतीको खोँचमा देखिएको छ तर निकाल्न सकिएको छैन र ६ जना यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।’’
यसअघि विभिन्न निकायले ६८ वटा शव प्राप्त भएको विवरण सार्वजनिक गरेका थिए । विमानको अधिकांश भाग जलेको छ । लामो प्रयासपछि आगो निभाइए पनि हालसम्म जीवित कसैको उद्धार हुन सकेको छैन ।
दुर्घटना अफ्ठ्यारो ठाउँमा रहेकाले आजलाई उद्धार कार्य स्थगित गरिएको छ र सोमबार बिहान ७ बजेबाट पुनः उद्धार कार्य जारी रहने जानकारी पनि पृतनापति बानियाले दिए ।
उता अस्पतालमा पुराइएका शवको पोस्मार्टम गर्ने कार्य जारी छ । यो समाचार तयार पार्दासम्म २५ वटा शवको पहिचान भएको छ । जसमा पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाही पनि छन् ।
पहिचान भएका शव सोमबार बिहान ९ बजेबाट परिवारलाई दिने तयारी छ ।
विमानमा जडान गरिएको ब्ल्याकबक्स अझसम्म पनि भेटिएको छैन । विमान के कारणले दुर्घटनामा परेको हो भनेर अध्ययन गर्न ब्ल्याकबक्स आवश्यक पर्दछ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।