सप्तरीः सप्तरीका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगतका वर्षमा झैँ मूर्तिकारहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् । 

जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । राजविराज नगरपालिका–१०, विरौलका ५९ वर्षीय रीतिलाल खत्वेले आगामी माघ १० गतेसम्म २५ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर १९ गतेदेखि नै काम सुरु गरेको बताए । 

गत वर्ष ३५ मूर्ति बनाएको उनले माघ ११ गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्ने बताए । विगत २५ वर्षदेखि मूर्ति बनाउँदै आउनुभएका खत्वेले यो वर्ष मूर्ति बेचेर करिब ६५ हजार कमाउने लक्ष्य राखेका छन् । 

महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डलले पनि माघ ११ नकाट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताए  । विष्णुपु्र गाउँपालिका कटीका २९ वर्षीय शिवशङ्कर खत्वेलाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उनले यो वर्ष सरस्वती पूजामा ५० प्रतिमा बेचेर ५४ हजारसम्म कमाउने लक्ष्य राखेका छन्  । मूर्तिकारहरू रीतिलाल, श्रवण र शिवशङ्करले जस्तै सप्तरीका राजविराज नगरपालिका, खडक नगरपालिका, कञ्चनरुप नपा, सप्तकोसी नपा, हनुमाननगर कङ्कालिनी नपा, डाक्नेश्वरी नपा र शम्भुनाथ नपाका विभिन्न ठाउँमा मूर्तिकारहरू सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहेका छन् ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको शिवशङ्कर खत्वेले बताए  । हरेक सरस्वती पूजाको समयमा आफूहरूले पुस्तौँपुस्तादेखि यस्तै काम गर्ने गरेको उनले बताए । माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर पैसा कमाउने खत्वेको भनाइ छ । 

उनले केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्ने बताए । तिलाठी कोइलाडी गाउँपालिका तोपाका ५५ वर्षीय रविशङ्कर खत्वेले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताए । उनले खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको धारणा राखे । “जागिर छैन, सधैँ काम हुँदैन, भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरू समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन गर्ने गरेका छौँ,” उनले भने ।

जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त छन् । कम्तीमा तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र पाँच सयदेखि १० हजारसम्ममा बिक्री हुने मूर्तिकार बताउँछन् । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।