पोखराः अमेरिकाबाट छोरा आउने भएपछि घरमा खुसीको सिमा थिएन । त्यहाँमाथि श्रीमान आउने भएपछि काठमाण्डौमै लिन पुगेकी थिइन जीवन संगीनी आशिका तर संयोग कस्तो भयो भने खुसीको पहाड सेती खोंचमा आएर बिलायो ।  

आइतबार पोखरामा भएको विमान दुर्घटनामा पनि  पोखराको हेमजा हनुमान चोकका राजन सापकोटा र उनकी जिवन संगीनीको समेत इहलिला समाप्त भयो । एक त माघे सङ्क्रान्ति पर्व त्यहाँमाथि विदेशी छोरा घर फर्किँदा खुसी कसको घरमा नहोला र तर त्यो खुसीको महशुस नै गर्न नपाई शोक थपियो । 

माघे सङ्क्रान्ति परेको हुँदा काठमाण्डौमा धेरै अलमल नगरी सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् । तर गर्न के नै सकिन्छ र मनलाई सम्हाल्न बाहेक । 

डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष माघको १९ गतेमात्रै  विवाह गरेका सापकोटा शनिवारमात्रै नेपाल आएका हुन् । 

उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । राजनसँग पोखराकै  हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा  र देशनै शोकमा डुबेको छ ।

चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको कास्की प्रहरीले बताएको छ ।