इटहरीः छोरो बुहारीलाई अष्ट्रेलिया उडाउन काठमाण्डौ पुगेकी बाग्लुङ्गकी सीता खड्का आफु घर पुग्न नपाउँदै संसार छाडेकी छन् ।  

शनिबार राति खुसीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाई गरेकी बागलुङ नगरपालिका–१ कि सीता खड्काले घर परिवारलाई भेट गर्न पाइनन् । 

आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्काको पनि  पोखरामा भएको जहाज दुर्घटनामा पनि निधन भयो।

छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै आमा बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ ।  

विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए । सीताका छोरा र बुहारी शनिबार राति ११ अस्ट्रेलियाका उडान गरेका थिए भने आइतबार बिहान सिता घर फर्कने क्रममा थिइन । सीतालाई छोरी अनिता खड्काले जहाजको टिकट गरिदिएपछि सीता यति एयरलायन्सको जहाजमा पोखरा फर्कँदै थिइन । 

आमा चढेकै जहाज दुर्घटना भएको  खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको बताइएको छ भने परिवारमा सन्नाटा छाएको छ ।