काठमाडौँः पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाले हिजो साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
परीक्षणका क्रममा उपरोक्त वायुयानमा कुनै प्राविधिक त्रुटि फेला नपरेको पनि क्यानले उल्लेख गरेको छ ।
कुनै पनि वायुयानको नियमित उडान योग्यता (एयरवर्दिनेस)का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडान पूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मत सम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको क्यानले विज्ञप्तिमा जनाएको छ ।
यही माघ १ गते आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटिआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै सेती नदीको खोंचमा दुर्घटना भएको थियो ।
विमानमा सवार चालक दलका सदस्यसहित ७२ सवार थिए । दुर्घटना स्थलबाट ७१ जनाको शव फेला परेको छ भने बाँकी १ जनाको खोजी कार्य जारी रहेको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्यानले दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । रासस