विराटचोकः बिहीबार बिहानैदेखि सुन्दरहरैंचाको वडा नम्बर ७ स्थित गोठगाउँ चोकमा स्थानीयको बाक्लो चहलपहल थियो । हुन त केही दिन अघिदेखि पुराना ड्रम र टायरलगायतमा रङरोगन गर्न थालेपछि उत्सुकतावश हेर्नेको भीड पनि बाक्लै हुने गथ्र्यो । बिहीबार गोठगाउँ चोकबाट पूर्वाञ्चल विश्वविद्यालय जाने बाटोमा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्यक्रम रहेको थियो ।

गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको पहलमा चोकको सौन्दर्यीकरणका लागि झण्डा राखिएको हो । तर सो झण्डा राख्ने क्रममा जनप्रतिनिधिहरुलाई आमन्त्रण गरिएन । गोठगाउँ चोकको दक्षिणतर्फ बाटो बिस्तारमा देखिएको समस्या समाधानका लागि भएको छलफलमा सहभागी भएका सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगर, कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्यहरु खुशीलाल चौधरी र मीन गुरुङ पनि झण्डा राख्ने कार्यक्रममा सहभागी भने भएका थिए । त्यति मात्रै होइन नगरप्रमुख गुरागाईँले त बोरामा बोकेर ड्रममा माटोसमेत भरेका थिए ।

स्वतःस्फूर्त गरिएका साना कार्यक्रममा जनप्रतिनिधिलाई औपचारिक रुपमा नबोलाई कार्यक्रम गर्दा पनि हुन्छ भन्ने देखाउन र जनप्रतिनिधिको महत्वपूर्ण समय व्यवस्थापनमा सहज होस् भनेर जनप्रतिनिधि नबोलाइएको टोल विकास संस्थाका अध्यक्ष केशव भट्टराईले बताए ।

कार्यक्रममा जनप्रतिनिधि आएर सहभागी हुँदा र श्रमदान समेत गर्दा खुशी लागेको टोल विकास संस्थाका सल्लाहकार पोष्टकुमार श्रेष्ठले बताए ।

gothgaun-sanndarikaran-2

गोठगाउँ चोकको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने ट्राफिक प्रहरी पोस्ट गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण गर्न शुरु मात्रै भएको र भविष्यमा यसको थप सौन्दर्य झल्काउनुपर्ने स्थानीय राजु पोखरेलले बताए । पोखरेलसहित टोल विकास संस्थाका सदस्य मातृका चौलागाईँ रङरोगन गर्ने कार्यमा सक्रिय रुपमा खटेका थिए ।

अघिल्लो दिन पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचार सेवा बिस्तार हुनु र भोलिपल्ट प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण हुनुले गोठगाउँको विकासमा थप सहयोग पुग्ने नेपाली कांग्रेस वडा नम्बर ७ का अध्यक्ष बलभद्र बिष्टले बताए । चोकको दक्षिणमा बाटो बिस्तारमा रहेको समस्या पनि हल हुने भएपछि चोकको सौन्दर्य अझ झल्कने नरेन स्टेशनरीका सञ्चालक नरेन रायाले बताए । रायाले चोकमा राखिने ७ वटा झण्डा टोल विकास समितिलाई उपलब्ध गराएका थिए ।

गोठगाउँ चोकमा हरेक मङ्गलबार लाग्ने साप्ताहिक बजारलाई व्यवस्थापन गर्न सके चोकको सौन्दर्यमा थप निखार आउने लीलाप्रसाद पोखरेलले बताए । गोठगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष रहेका पोखरेलले बजार व्यवस्थापनको बारेमा छलफल भइरहेको र चाँडै नै एउटा निष्कर्षमा पुगिने बताए ।