हिलेः धनकुटाको ऐतिहासिक निशान भगवतीको मन्दिर पसिरमा दुई सय वर्ष पुरानो ढुङ्गेधारा स्थापना गरिएको छ । २ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा ऐतिहासिक धारा स्थापना गरिएको हो । 

निर्माण गर्न लागिएको ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मूल गेटभन्दाभित्र रहेका छन् ।  मुख्य गरेर त्यहाँ रहेको जङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गरिएको हो । धाराको बसन्तपञ्चमीको अवसर पारेर बिहीबार पुर्वीपृतना प्रमुख सहदेव खड्काले उद्घाटन गरे । 

मन्दिरको मुलगेट नजिकै सडकतिर फर्काएर दुई सय वर्ष पुरानो ढुङ्गे हिटीधारा समेत स्थापना गरिएको छ । सो धारा सर्वसाधारणका लागि निशान मन्दिरको बाहिरी भागमा खुल्ला राखिने छ ।  धारासंगै पुरानै शैलीको प्रवेशद्वार समेत निर्माण गरिएको छ । करिब १६ लाख रुपियाँको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । मन्दिरमा दुई थान तोप समेत राखिएको छ ।

उक्त धारा २०५२ मा धनकुटा हिले लोकमार्ग निर्माण गर्ने क्रमममा धनकुटाको जिरोपोइन्टमा रहेको ओडार भेटिएको थियो । त्यो बेला उक्त धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन क्षेत्रीय सङ्ग्रहालय हालको प्रदेश सङ्ग्रहालय धनकुटामा राखिएको थियो । पुरातात्त्विक विभागले धनकुटा –७ जिरोपोइन्टमा भेटिएको ढुङ्गेधारा दुई सय वर्षभन्दा पुरानो रहेको जनाएको छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।