कैलालीः कैलालीमा छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन् ।

श्रीरामले मंगलबार राति ७१ वर्षीया आमा लगनीदेवीलाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो । उनको नवजीवन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

मृतकका जेठा छोरा रामलाल थारुले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बृद्धभत्ताका विषयमा श्रीरामले आमासँग झगडा गरिरहने परिवारका सदस्यले बताएका छन् । बृद्धाभत्ताकै कारण हत्या गरेको हुनसक्ने बताइएको छ । 

इलाका प्रहरी कार्यालय लम्कीले हत्याको अभियोगमा थारुलाई मंगलबार बिहान जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।