हिलेः  धनकुटाको साँगुरीगढी गाउँपालिका–६ पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारीमा पर्यटकीय स्थानमा निस्कने फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको हो ।

साँगुरीगढी गाउँपालिका वडा नं ६ र ८ का पर्यटकीय स्थानहरू, पाथीभरा मन्दिरका दुई स्थान, पार्किङ स्थल र मन्दिर पुग्ने स्थलभन्दा अघिल्लो स्टेसन, साँगुरीगढी, पिकनिक स्पट, झन्डी डाँडा, नमस्ते झरनामा निर्माण गरिएको हो । ती घरहरूको निर्माण लागत २१ लाख ३३ हजार २१५ रुपियाँ छ । जसमध्ये गाउँपालिकाको १२ लाख लगानी रहेको छ । त्यस्तै स्थानीय बासिन्दाको एक लाख पाँच हजार २१५ रुपियाँ जनश्रमदानबापत लगानी रहेको गाउँपालिकाले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)अन्तर्गत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारीमा उक्त पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए  । निर्माण सम्पन्न भइसकेका ती प्रणाली घरमा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको फोहोर मैला व्यवस्थापन प्रणाली उपभोक्ता समितिका अध्यक्ष थामेश्वर सुब्बाले बताए । सो फोहोर व्यवस्थापन प्रणाली परियोजनाबाट मासिक तीन हजार जना पर्यटक लाभान्वित हुने उनको भनाइ छ । 

फोहोरमैला व्यवस्थापन प्रणाली घरभित्र तीनवटा च्याम्बर ब्लक रहेका छन् । तीन च्याम्बर ब्लक सिसाजन्य पदार्थ, कागजजन्य पदार्थ र प्लास्टिकजन्य पदार्थ छुट्याउने गरी बेग्लाबेग्लै छन् । हरेक च्याम्बर फोहोरले भरिसकेपछि पछाडिपट्टी रहेको ढोकाबाट निकाल्न सक्नेगरी व्यवस्था गरिएको छ । ती च्याम्बरमा सङ्कलन भएको फोहोरलाई हप्तामा दुई पटक गाउँपालिकाको ट्याक्टरले अस्थायी फोहोरमैला सङ्कलन केन्द्रमा लगेर व्यवस्थापन गरिनेछ ।

फोहोर व्यवस्थापन प्रणाली निर्माणले फोहोर व्यवस्थापनको समस्यालाई धेरै हदसम्म समाधान दिएको निर्माण कार्यको अनुगमन समितिका संयोजक तथा भेडेटार नागरिक समाजका संयोजक रमेश सुब्बाले बताए  । ती ठाउँमा प्लास्टिकका डस्बिन, वासको टोकरी राखेर फोहोर सङ्कलन गर्दा दिगो हुन सकेन । राखिएका डस्बिनहरू फुटाइदिने, फ्याकिदिने जस्ता कार्य भइरहयो । डोको, बोराहरू ठाउँठाउँमा राखिदिँदा पनि समस्या समाधान हुन सकेन तर व्यवस्थापन प्रणाली घर निर्माणले फोहोरको व्यवस्थापन सहज भएको उनको भनाइ छ ।

तीन च्याम्बरमा एक पटकमा कम्तीमा एक टन फोहोर अट्ने क्षमता रहेको छ । तत्कालका लागि ती फोहोरलाई गाउँपालिकाले अस्थायी रूपमा बनाएको फोहोरमैला सङ्कलनमा व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।