धरानः  धरान एक्स्पो २०७९ को तेस्रो दिन ‘राई इज किङ्ग’ राजेश पायल राई प्रस्तुत हुने भएका छन् । 

साँझ ६ बजेदेखि प्रस्तुत हुने राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छन् । राईसँग स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

राईका दर्शन नमस्ते, बल्ल भेट भो आदाङ्मे, सागर सरी चोखो माया, तिमीजस्ती सुवासिली जस्ता सयौं गीत चर्चित छन् । एक्स्पोका लागि गायक राई धरान आई पुगिसकेका छन् ।

एक्स्पोको पहिलो दिन समिर श्रेष्ठ र दोस्रो दिन छेवाङ लामाले आ–आफ्नो प्रस्तुति दिएका थिए । 

सुनसरी जिल्लामा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै आयोजना भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंगलादेशका एक सय २३ स्टल रहेका छन् । 

FB_IMG_1677289143372

सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो फागुन २० गतेसम्म जारी रहनेछ । 

अवलोकनकर्ताको सहजताका लागि आयोजकले चतरा बस स्ट्यान्ड, पानमारा स्कुल डाँडा, बरगाछी (रानी पेट्रोल पम्प), बगरकोट पारी (सेउती पुल) र मंगलबारे चोक गरी कुल पाँच स्थानबाट एक्स्पो स्थलसम्म निःशुल्क बस सेवा (एकतर्फी) उपलब्ध गराएको छ । त्यसबाहेक एक्स्पो अवधिभर एक्स्पो स्थलसम्म आवतजावत गर्ने अटोमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।    

दिउँसो एक बजेसम्म प्रवेश निःशुल्क गरिएको एक्स्पोमा दिउँसो एक बजेदेखि पाँच बजेसम्म प्रति टिकट रु ५० र साँझ पाँच बजेपश्चात्त प्रति टिकट रु २०० निर्धारण गरिएको छ । 

आर्थिक गतिविधि, उद्योग, व्यवसाय विकास र विस्तार र नयाँ सम्भावनाका खोज, प्रवद्र्धन र प्रचार गर्ने मुख्य उद्देश्य निर्धारण गरिएको धरान एक्स्पोले सुनसरी, विशेषतः धरानको व्यापारिक, व्यवसायीक शाख पुनर्जिवित गराउने लक्ष्य लिएको छ ।

20230224_120808