प्रकाश बन्जारा 

इटहरीः  स्वास्थ्य चौकी तथा रेफर सेन्टर जस्तो भएको इटहरी उपमहानगरको स्वास्थ्य केन्द्र विस्तारै सुविधा सम्पन्न इटहरी अस्पताल बन्ने सुरमा छ । 

केहि समय अघिसम्म स्वास्थ्य बीमाको रिफर सेन्टर जस्तो मात्रैमा सिमित रहेको इटहरी अस्पताललाई गत बैशाख ३० गतेको स्थानीय निर्वाचन पछि नयाँ जनप्रतिनिधी आएपछि सुधार सुरु भएको हो । 

नगरप्रमुख हेमकर्ण पौडेलले पदस्थापनमै रेफरको व्यावस्थालाई पनि इटहरीका सबै स्वास्थ्य केन्द्रबाट गर्ने गरी व्यावस्था मिलाउने प्रतिवद्धता गरेका थिए । सोहि अनुरुप इटहरीका ४ वटा स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमाको उपचार गराउन ठुला अस्पताल चाहार्ने बिरामीका लागि रेफर गर्न सक्ने अधिकार दिएको थियो भने इटहरी अस्पतालमा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै टोकन प्रणाली लागू गरेको थियो । 

हाल दैनिक ४ सय हाराहारी सेवाग्राहीलाई सेवा दिने इटहरी अस्पतालमा मेडिकल अफिसर सहित ४ जना बिशेषज्ञ डाक्टरले सेवा दिन थालेका छन् । 

शुक्रबारबाट मात्रै इटहरी अस्पतालमा महिला तथा प्रशुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञले सेवा दिन थालेका छन् । त्यो संगैँ नेपाल सरकारको  छात्रवृद्धीमा समेत एक जना डाक्टरले स्वास्थ्य सेवा दिइरहेका छन् । 

केहि समय जनशक्ति अभावले निकै समस्या झेलेको इटहरी अस्पतालले अव भने विशेषज्ञ डाक्टर सहित सेवा दिने व्यावस्था मिलेकोले जनशक्तिको समस्या नरहेको इटहरी अस्पतालका प्रशासन प्रमुख दामोदर गौतम बताउँछन् । 

गत असोज २ गते आशय पत्र पेश गर्न सुचना निकालेको इटहरी उपमहनागरपालिकाले सबै भन्दा कम दररेटमा दैनिक ४ घण्टा सेवा दिने आशय पत्र पेश गरेका बालरोग विशेषज्ञ संजय कुमार साह, स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा निशा अधिकारी र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा धिरज सिंहले शुक्रबारबाट सेवा प्रवाह सुरु गरेका छन् । त्यसबाहेक अस्पतालमा डा प्रकाश पाण्डे,डा सुशान्त चौधरी र डा शिव नारायण शर्मा रहेका छन् । शर्मा अस्पतालमा मेडिकल अफिसर हुन । 

विहिबार मात्रै विशेषज्ञ डाक्टरसँग सेवा प्रवाहको सम्झौता भएको र उहाँहरुले दैनिक ४ घण्टा सेवा दिने गरी सम्झौता गरिएको  इटहरी उपमहानगरपालिकाका नगर प्रमुख तथा इटहरी अस्पतालका संयोजक हेमकर्ण पौडेलले बताए । 

327903658_193500919949615_5485687692394250450_n

एक जना मेडिकल अफिसर, छात्रवृद्धीमा रहने एक जना डाक्टर र विशेषज्ञ डाक्टर सहित अव ५ जना डाक्टर इटहरी अस्पतालमा रहने नगरप्रमुख पौडेलले बताए । अव एक महिना भित्रै इटहरी अस्पताललाई अस्पताल जस्तै डेन्टिस , र फिजियो थेपारी सहित २४ घण्टै आपतकालिन सेवा सहित २४ घण्टै ल्याव सेवा र एक्सरे सेवा सुरु गर्ने इटहरी अस्पतालले तयारी गरेको छ । इटहरी अस्पतालका प्रशासन प्रमुख  गौतमका अनुसार इटहरी अस्पतालमा हाल १३ जना नर्सिङ्ग स्टाफ, १४ जना पारोमेडिक स्टाफ, एक जना रेडियोग्राफी, १ जना रेडियोलोजिस्ट र २ जना फार्मेसिस्ट स्टाफ रहेका छन् । 

जेष्ठ नागरिक र असाय अपांङ गरी दैनिक १ सय जना बिरामी र अन्य साढे तीन सयको हाराहारी बिरामीलाई इटहरी अस्पतालले अहिले सेवा दिइरहेको गौतमको भनाई छ । 

अस्पतालले अहिले सम्पुर्ण सेवा टोकन प्रणाली आधारमा कसैलाई तलमाथि नगरिकन नियमभित्रै रहेर प्रदान गरीरहेको अस्पताल प्रमुख बताउँछन् । इटहरी अस्पतालले अहिले नेपाल सरकारको स्वास्थ्य बीमाबाट उपचार गर्न आउने सेवाग्राहीलाई रेफर भन्दा पनि उपचारमा ध्यान दिने गरेको छ । बिशेषज्ञ डाक्टर समेत रहेकाले पहिले उपचार गर्ने र त्यहाँ उपचार नहुने खण्डमा मात्रै रेफर गरेर अन्य ठुला अस्पतालमा पठाइने अस्पताल प्रशासनको भनाई छ । कुनै समय रेफर सेन्टरकै रुपमा लिइएको अस्पताललाई उपमहानगरका प्रमुख तथा अस्पताल प्रशासनको अग्रसरता र पहलमा अस्पतालको रुपमा विकास गरिदैँछ । २४ घण्टै इमरेजेन्सि सहितको सेवा सुरु गरेको खण्डमा बल्ल नाम अनुसार इटहरी अस्पताल बन्ने सर्वसाधारण सेवाग्राहीको भनाई छ । 

‘हामी सकेसम्म नो कम्प्लेनमा काम गरीहरेका छौँ । कहिले काही पव्लिकले चाँडै सेवा खोज्ने र कानुनले प्रक्रिया खोज्ने हुँदा सेवा प्रवाहमा केही ढिला हुन सक्छ’ अस्पतालका प्रशासन प्रमुख गौतमले सुनाए ।