शान पनि त्याग्न राजी छु 

मान पनि त्याग्न राजी छु 

मायाका लागि आइपरे 

ज्यान पनि त्याग्न राजी छु 

सै हँमा

माथि उल्लिखित गीतका गायक हुन् राजेश पायल राई । ‘राई इज किङ्ग’को उपाधि पाएका उनै राईले शनिबार धरान एक्स्पोमा डेढ घण्टा आफ्नो साङ्गीतिक प्रस्तुति दिए । 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोको तेस्रो दिन मुख्य आकर्षणका रुपमा प्रस्तुत भएका राईले दर्जन बढी साङ्गीतिक कोसेलीमार्फत धरानलाई आफूसँगै तालमा नचाए । 

चार हजार बढी दर्शक, श्रोता र अवलोकनकर्ता सहभागी भएको एक्स्पोको साङ्गीतिक कार्यक्रममा गायक राईसँगै गाउने र गीतको तालमा झुम्मिनेको दृश्य निकै लोभलाग्दो थियो । 

सेतो टिसर्ट, ऊनीको हाफ स्वेटर, कोट र जिन्समा प्रस्तुत भएका उनले आफ्नो जुल्फी हल्लाउँदै ‘यो–यो’ भन्दा हुटिङ गर्नेको जमात बाक्लो थियो । 

20230225_230448

आफ्नो साङ्गीतिक प्रस्तुतिमार्फत धरान रङ्गशालाको साँझ रङ्गिन बनाउन कुनै कसुर बाँकी नराखी स्टेजमा देखिएका राईलाई उपस्थित दर्शक–श्रोताले उस्तै जोसिलो साथ दिएका थिए ।

एक्स्पोको साङ्गीतिक कार्यक्रममा गायक राईसँगै गाउने र गीतको तालमा झुम्मिनेको दृश्य निकै लोभलाग्दो थियो । बालबालिका, युवा, व्यस्क र वृद्धवृद्धा सबै उमेर समूहका मानिसको उस्तै सहभागिता रहेको कार्यक्रमबाट आयोजक, दर्शक, श्रोता, सङ्गीतप्रेमी र प्रायोजकलाई दर्शन नमस्ते भन्दै गायक राई बिदा भएका थिए । 

फागुन ११ बाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोको पहिलो दिन समिर श्रेष्ठ र दोस्रो दिन छेवाङ लामा प्रस्तुत भएका थिए । 

१० दिनसम्म आयोजना हुने एक्स्पोमा हरेक दिन राष्ट्रिय, स्थानीय कलाकार र समूहको प्रस्तुति रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।