धरानः धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ ।  

अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । 

रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबारबाट रोटेपिङ सञ्चालनमा आउने जानकारी दिए । 

‘आवश्यक प्रक्रिया पुरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै हिजोबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा आएको छ ।’

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका छन् । 

एक्स्पोको पाँचौं दिन हिजो चर्चित गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति दिएका छन । गायक लिम्बूबाहेक स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिएका छन । 

फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

एक्स्पो अवलोकनकर्ताको सहजीकरणका लागि धरानका विभिन्न पाँच स्थानबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ भने एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोमा छुटको व्यवस्था गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले बताएको छ ।