धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ को छैटौं दिन आज गायक डिल्ली फोम्बो प्रस्तुत हुने भएका छन् ।
फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेका फोम्बोका ‘चिटिक्क’, ‘युमा माङ’, ‘सुन्दरता’, ‘यो मायाले’ लगायतका गीत चर्चित छन् ।
फोम्बोबाहेक एक्स्पोमा आज ‘इन्फ्लुयन्स डान्स स्टुडियो’, ‘तपस्वी ब्यान्ड’ लगायत स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
साँझ ६ बजेबाट सुरु हुने साङ्गीतिक कार्यक्रममा आजका लागि टिकट दर एक सय रुपैयाँ निर्धारण गरिएको छ ।
दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको छ ।
सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ ।
दश दिनसम्म सञ्चालन हुने एक्स्पोमा १० करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।