धरानः  धरान एक्स्पो २०७९ मा आज (बुधबार) पर्यटन गोष्ठी सम्पन्न भएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद्, राजनीतिक दल र सरोकारवालाको उपस्थिती रहेको थियो ।

गोष्ठीमा पर्यटन, पर्यटकीय क्षेत्रमा विद्यमान समस्या, त्यसका समाधान, पर्यटन प्रवद्र्धन, नयाँ पर्यटकीय स्टलको पहिचान, प्रचार, नवीनतम पर्यटन उद्यम लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

गोष्ठीका वक्ता पर्यटन व्यवसायी एलिना मगरले नयाँ पुस्तालाई नवीनतम योजनासहित पर्यटन व्यवसायमा आउन आग्रह गरिन् । 

‘अहिले पर्यटन विषय पढ्ने नेपाली विद्यार्थीको संख्या लोभलाग्दो छ तर वहाँहरुको पहिलो रोजाइ विदेश छ यसलाई परिवर्तन गर्न आवश्यक छ’ मगरले भनिन् ‘पढेको सैद्धान्तिक ज्ञान स्वदेशमै बसेर पर्यटन क्षेत्रमा लागू गर्न सकिए यहाँ अवसर नै अवसर छ ।’ 

नेपालमा दक्ष जनशक्तिको अभाव भएका कारण नेपाली युवाहरुले होटल, ट्राभल एजेन्सीमा आबद्ध रहेर वा त्यससँग सम्बन्धित उद्यम सुरु गर्न सकिने पर्यटन व्यवसायी मगरको तर्क रहेको थियो । 

नेपाल होटल व्यवसायी महासंघ प्रदेश १ का संयोजक वासुदेव बरालले लक्षित समूह बनाएर प्याकेजसहितको पर्यटन व्यवसाय गर्नुपर्नेमा जोड दिए । 

वक्ताका रुपमा गोष्ठीमा उपस्थित भएका उनले ‘वान वे टुरिज्म’को साटो ‘लङ्ग टर्म टुरिज्म’मा सबैले ध्यान दिन आवश्यक रहेको तर्क गरे । 

लङ्ग टर्म टुरिज्मको विषयमा बोल्दै बरालले भने, ‘हामीले धरान, सुनसरी, प्रदेश १ आउने पर्यटकलाई लामो समयसम्म कसरी यहीँ क्षेत्रमा घुमिरहने बनाउन सक्छौँ त्यसतर्फ ध्यान दिन आवश्यक छ । त्यस किसिमका पर्यटकीय स्थल र त्यहीँ अनुसारको प्याकेज बनाउनु पर्छ ।’

प्रदेश १ मा रहेका हिमाल, मन्दिर, हिल स्टेशनलाई जोडेर विशेष समूहलाई लक्षित गरी सोही अनुसारका योजना बनाएर काम गर्न सके प्रदेशको पर्यटन र यसको व्यवसायीकतामा वृद्धि गर्न सकिने उनले बताए ।

गोष्ठीका संयोजक लोकेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित हुने सबैलाई धरान एक्स्पो २०७९ र सुनसरी उद्योग वाणिज्य संघको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

गोष्ठी र एक्स्पोले धरानको पर्यटनलाई पुनर्जिवित गर्ने विश्वास लिएको बताउँदै उनले यसमा सबैले सहयोग गरेर सम्भव बनाउन आग्रह गरेका छन् । 

‘धरान, सुनसरी, प्रदेश १ मा उत्पादन पनि छ पर्यटकीय क्षेत्र पनि छन् हामी अलि व्यवस्थापनमा चुकेका छौँ’ गोष्ठी संयोजक श्रेष्ठले भने, ‘आगामी दिनमा कार्यदिशा बनाएर, आवधिक योजना बनाएर मजबुत व्यवस्थापनसहित अघि बढ्नेछौँ भन्ने विश्वास राखेका छौँ ।’

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा यसअघि ‘स्वरोजगार तालिम’ सम्पन्न भइसकेको छ । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार फागनु २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा अन्य विषयमा समेत गोष्ठी, कार्यशाला र तालिम सञ्चालन हुनेछ । एक्स्पो अवधिभित्रै धरानको खानेपानी समस्या समाधानको विषयमा समेत अन्तक्रिया कार्यक्रम हुने उनले बताए । 

फागुन ११ गतेबाट धरान रङ्गशालामा जारी एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल प्रदर्शनीमा राखिएका छन् । 

एक्स्पोमार्फत सुनसरीको व्यवसायीक, औद्योगिक, कुषि, शैक्षिक, सूचना तथा प्रविधि क्षेत्रको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ ।