इटहरीः इलाका प्रहरी कार्यालय इटहरीले दुई दिनअघि इटहरीको वडा नम्बर २० कार्यालय र प्रहरी चौकी तरहराको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी आन्दोलनमा सक्रिय इटहरीका दिपराज राईलाई गए राती पक्राउ गरेको छ । 

 उनी किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वडा नम्बर १, १९ र २० का वडा सदस्य हुन । 

कोशी प्रदेश खारेजीको माग सहित संघर्षमा उत्रिएको पुनः नामांकन संघर्ष समितिले मंगलबार एक विज्ञप्ती जारी गर्दै राईको विनासर्त रिहाईको माग गरेको छ ।

विना अभियोग, अदालतको आदेश र कुनै जानकारी विनै प्रहरीले घरबाटै पक्राउ गरेर लगेको भन्दै संघर्ष समितिले राईको अविलम्व रिहाई नभए शसक्त आन्दोलनमा उत्रन बाध्य हुने भन्दै प्रेस विज्ञप्तीमा जनाएका छन् ।

कोशी प्रदेश नाम खारेजीको शान्तिपुर्ण आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा नलाग्ने समेत सरोकारवालालाई विज्ञप्ती मार्फत सचतेत गराइएको छ । विज्ञप्तीमा किराँत याक्थुगं चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, आदिवासि जनजाति महासंघ ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नम्बर १ पुन नामांकन अभियान समितिका डकेन्द्र सिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।

339404185_770046204518119_29071184118665874_n (2)

राईलाई राती नै जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ । इटहरी वडा नम्बर २० वडा कार्यालय र प्रहरी चौकी तरहराको गाडी तोडफोड भएको घटनामा उनलाई मुद्धा चलाउन लागेको बुझिएको छ ।

उनलाई विना शर्त रिहाको माग गर्दै अहिले बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरी घेराउ गरि दबाब सृजना गर्ने कार्यक्रम रहेको आन्दोलनरत पहिचानवादी नेताहरुले बताएका छन् ।