इटहरीः एसइइ परीक्षामा सामेल भएका नक्कली परीक्षार्थी बिभिन्न एजुकेसन कन्सल्टेन्सीहरुबाट परिचालन हुने गरेको खुलेको छ । मोरङ्ग प्रहरीले गरेको अनुसन्धानमा नक्कली परिक्षार्थीहरु कन्सल्टेन्सी र शिक्षकहरुबाट परिचालन हुने गरेको खुलेको हो ।
बुधवार र बिहीवार प्रहरीले मोरङका ३ विद्यालयबाट २०१ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको थियो । बुधवार सरस्वती मावि केन्द्रबाट २ जना पक्राउ परेका थिए ।
ती परीक्षार्थीहरूलाई छुटाउन सभामुख देवराज घिमिरेको सचिवालयबाट दबाब आएको इलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ । यस्तै संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले पनि फोन गरेर नक्कली परीक्षार्थी छुटाउन दबाब दिएको प्रहरीले खुलाएको छ ।
कन्सल्टेन्सीहरुले ‘दैनिक ४ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको खुलेको छ, बेलबारी प्रहरीको भनाई छ । कन्सल्टेन्सीले एक विद्यार्थीबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिएको प्रहरीले पत्ता लगाएको छ ।
पक्राउ परेका नक्कली परीक्षार्थीलाई प्रहरीले शिक्षा ऐन, २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारी, लेटाङ, उर्लाबारी, रंगेली, सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ ।