इटहरीः इटहरी उद्योग वाणिज्य संघले चोक आसपास भइरहेको पार्किङ्गको समस्या समाधान गर्न नगरप्रमुख हेमकर्ण पौडेलको पुनः ध्यानाकर्षण गराएको छ । 

पार्किङ निषेध गरिएका कारण  व्यापारीलाई समस्या भएका कारण उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीले मेयर हेमकर्ण पौडेललाई पुनः ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो  । यसअघि पनि सोही समस्या राख्दै वाणिज्य संघले मेयर पौडेललाई ध्यानकर्षणपत्र दिँदै समस्या हल गर्न आग्रह गरेको थियो । 

इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्या भएका कारण व्यवसायीहरू मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले ध्यानाकर्षण पत्र बोकेर बिहिबार नगरप्रमुखको कार्यकक्ष सम्म पुगेका हुन । पराजुलीसँग बिभिन्न बस्तुगत संघका पदाधिकारीहरु समेत सहभागी थिए । पुनः ध्यानकर्षण पत्र दिदाँ मेयर पौडेल अब चाँडै समस्या हल गर्ने पक्षमा आफु रहेको प्रतिक्रिया दिएका छन् । 

पछिल्लो समय देशमा आर्थिक मन्दी र व्यापारमा आइरहेको ह्रासका कारण व्यवसायीहरूमा तनाव उत्पन्न भएकाले समस्या सम्बोधनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर पौडेलले पार्किङका लागि ट्राफिक प्रहरी र व्यवसायीहरूसँग छलफल गरेर उचित निर्णयमा पुग्ने बचन दिएको अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने –‘नयाँ सालको १ गतेबाट व्यवसायीहरुलाई राहत हुने गरि पार्किङको व्यवस्था गर्ने बचन मेयरबाट पाएका छौं । सम्बन्धित निकाय जिम्मेवार बन्छ भन्नेमा हामीहरु विश्वस्त छौं । यदि बचन पुरा नभए ०८० साल बैशाख १ गतेबाट वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुलाई राहत दिने गरि पार्किङको व्यवस्थापनमा हामी अगाडि बढन बाध्य हुन्छौ ।’