इटहरीः जिल्ला होटल तथा पर्यटन व्यावसायी संघ तथा होटल तथा लज व्यावसायी समिति इटहरीको संयुक्त आयोजनामा इटहरीमा परम्परागत खाना महोत्सव हुने भएको छ । 

खानाको माध्यमबाट स्थानीय जनजीवन झल्कने भएकाले विभिन्न जात जातिका खाना सहितको महोत्सव दश दिन चल्ने आयोजकले बताएका छन् । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक एंव होटल तथा लज व्यावसायी समिति इटहरीका अध्यक्ष उमेश दाहालले महोत्सव अवधिभर ३५ हजार भन्दा बढी अवलोकनकर्ताले महोत्सवको अवलोकन गर्ने बताए । 

नेपाली परम्परागत खानालाई मुख्य आकर्षणको रुपमा राखिने बताउँदै आयोजकले लोप हुन लागेका खानालाई पुनः प्रयोगमा ल्याउन त्यसको प्रचार प्रसार गर्न मेलाको आयोजना गरिएको बताएका छन् । 

337605616_540466224669472_5126576620420457081_n

महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय कलाकारको उपस्थिती रहने बताइएको छ । ३० वटा स्टल रहने महोत्सव इटहरीको आइतबारेमा रहेको नेपाल टेलिकम उत्तर तर्फ रहेको कर्मचारी संचयकोषको खाली जग्गामा  लाग्ने भएको हो । 

महोत्सवमा आउने दर्शकले चाहेको खानाको परिकार रोजेर खान पाउने बताइएको छ । महोत्सवमा मोरङ्ग, सुनसरी, झापा, सप्तरी, धनकुटासँगै भारतको विहार राज्यबाट समेत पर्यटकहरु सहभागिता हुने अपेक्षा गरिएको छ । 

कार्यक्रममा होटल म्यानेजमेन्ट स्कुलहरुले समेत आफ्नो आफ्नो स्टल सहित विभिन्न खानाका परिकारको प्रमोसन गर्ने बताएका छन् । महोत्सवमा २० लाख रुपैँया लगानी गरेर त्यत्तिनै खर्च आम्दानी गर्ने लक्ष्य रहेको जिल्ला होटल तथा पर्यटन व्यावसायी संघ सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले बताए  ।