इटहरीः सरकारले कोशी प्रदेश नामांकरणको विरोधमा भएको आन्दोलमा घाइते भई मृत्यु भएका पदम लिम्बुको परिवारलाई दश लाख रुपैँया क्षतिपुर्ती दिने भएको छ । 

कोशी प्रदेश नाम खारेजीको माग गर्दै भएको आन्दोलनको क्रममा घाइते भइ मृत्यु भएका पदमकुमार लिम्बुलाई सरकारले सहिद घोषणा  गरिसकेको छ भने राहतको लागि  औपचारिक पत्र गृह मन्त्रालयले जिल्ला प्रशासन मोरङलाई पठाएको छ ।

मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले लिम्बूलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी गृहले औपचारिक रूपमा मोरङ प्रशासनलाई पठाएको हो ।

प्रशासनले परिवार तथा सरोकारवालालाई सो पत्र हस्तान्तरण भने गरिसकेको छैन । लाजेहाङ्गको  शव सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमै रहेको छ ।


गृह मन्त्रालयद्वारा मोरङ जिल्ला प्रशासनमा पठाइएको पत्रमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।१२।२४ को बैठकबाट ‘कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका पदमकुमार लिम्बु, तेह्रथुमलाई शहिद घोषणा गर्ने एवं निजको परिवारलाई दश लाख रुपैया आर्थिक सहायता उपलब्ध गराउने भनी निर्णय भएको ब्यहोरा तहाँको जानकारीको लागि अनुरोध छ’ उल्लेख गरिएको छ । गत चैत ५ गते विराटनगरमा कोशी नामकरणको विरुद्ध भएको प्रदर्शनका क्रममा घाइते भएका लिम्बूको ९ गते बिपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले लाजेहाङको मृत्युलगत्तै शहिद घोषणा गर्न माग गरिरहेको थियो । शहिद घोषणा नगरिरिएसम्म शव जिम्मा नलिने परिवारले जनाएको थियो ।