काठमाडौंःमधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले मन्त्री यादवले २१ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी छिन् । 

शुक्रबार पत्रकार सम्मेलनमार्फत मन्त्री यादवले २०७९ माघ २४ देखि २०८० बैशाख ७ गतेसम्म (७३ दिन) मा आफूले गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेकी हुन् । 

मन्त्रालयको कार्यप्रगतिअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका वन क्षेत्रभित्र विगत वर्षदेखि ढलेर रहेका रुखहरु (काठ/दाउरा) संकलन गरी सुरक्षित स्थानमा घाटगद्दि निर्माण गरि काठ दाउरा व्यवस्थापनको नीतिगत निर्णय गरिएको जिकिर गरेकी छिन् ।  

त्यस्तै प्रदेशमा औद्योगिकीकरणको प्रक्रियालाई गतिशील र सुदृढ गर्दै परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गरिएको उनको भनाई छ । 

व्यवसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरु सिर्जना गरी देशको आर्थिक विकासमा योगदान पुर्याउन नयाँ स्थापना भएको उद्योग विभाग, वीरगञ्जको कार्यविधि–२०७९ स्वीकृत गरी कार्य सञ्चालन सुचारु गराएको उनले जानकारी दिइन् । 


प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार प्रदेश सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी सहज सरल रुपमा काठ दाउरा आपूर्तिरबिक्री वितरण गर्न प्रदेशका ८ वटै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिका २४ जना पदाधिकारी मनोनयन गरी कार्य सञ्चालन गराएको मन्त्री यादवको भनाई छ । 

उनले वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार उद्योग क्षेत्रसँग सम्बन्धित संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण कार्यसूची तथा संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको स्वीकृत गर्नेसम्मको अधिकार उद्योग विभाग, वीरगञ्जका महानिर्देशकलाई प्रत्यायोजन गरी कार्य सञ्चालन गराएको दाबी गरिन् ।

त्यस्तै मिथिला माध्यमिकी परिक्रमाको मटिहानी पडावस्थलमा धर्मशाला निर्माण कार्यको शिलान्यास र पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका कारिकबाबामा पोखरी सौन्दर्यीकरण तथा स्तरोन्नति, पोखरीको डिलमा चारैतिर रेलिङ्ग, लाईट, गोलघर निमार्ण कार्यको शिलान्यास गरी कार्य सुरुवात गराएको उनको भनाई छ । 

पर्यटन विधेयक–२०७९ तयार गरी राय सुझाव/छलफलको क्रममा रहेको र प्रदेश वन नियमावली–२०७९ उपर पुनः समिक्षा गरी त्यो पनि स्वीकृतीको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् ।नेपाल न्युज बैंक