काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले, रुस नेपालसँग सिधा हवाई सेवा पुनः संचालन गर्न तयार भएको बताएका छन् ।
मंगलबार एक साता लामो रुस भ्रमण सकेर स्वदेश फर्किएका अध्यक्ष तिमिल्सिनाले, रुस नेपालसँग सिधा हवाई सेवा संचालनका साथै रासायनिक मल तथा खाद्यान्न निर्यात तथा नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको संख्या बढाउन तयार भएको जानकारी दिएका हुन् ।
उनले भने ‘रुस नेपाल नेपालसँग सिधा हवाई सेवा पुनः संचालन गर्न, नेपालको माग भएमा जीटूजी आधारमा रासायनिक मल तथा खाद्यान्न गहुँ निर्यात गर्न तथा नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको संख्या बढाउन, नेपालले चाहेमा बाल अस्पताललाई स्तरवृद्दि गर्न, ललितपुर महानगरपालिका र उलान उडे तथा पोखरा महानगरपालिका र सोची शहरबीच भगिनी सम्बन्ध स्थापन गर्न, व्यापार तथा उद्योगको क्षेत्रमा लगानी बढाउन, हेलिकप्टर खरिद सम्बन्धी सम्झौता अगाडि बढाउन रूस तयार छ।’
त्यस्तै सन् २०३० सम्म संसदीय सहयोग, विकासका कार्ययोजना र अर्थतन्त्रमा सुधार ल्याउन एक जना फोकल व्यक्ति तोकिने र सो अवधिसम्म के के गर्न सकिन्छ एउटा ठोस कार्ययोजना तथा खाका तयार गरी लिखित कागजात आदान प्रदान गर्न रुस तयार भएको उनको भनाई छ ।
रुसको माथिल्लो सभा फेडेरेसन काउन्सीलका अध्यक्ष भ्यालेन्टिना मादिभऐन्कोको निमन्त्रणामा ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही वैशाख ६ गते औपचारिक भ्रमणमा गएका अध्यक्ष तिमिल्सिनाले रुसको औपचारिक भ्रमणको क्रममा प्रतिनिधिमण्डलले रुसको माथिल्लो सभा फेडेरेसन काउन्सिलका अध्यक्ष भ्यालेन्टिना मादिभऐन्को, तल्लो सदन स्टेट दुमाका अध्यक्ष एच. ई. भ्याचेस्लाभ भोलोडिन, रुसका उपप्रधानमन्त्री डि. एन. मेनशेन्को, उपविदेशमन्त्री ए.वाई. रुडेन्को, सेन्ट पिटर्सवर्गको विधायन सभाका उपाध्यक्ष, स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री बिल्कीसँग भेटवार्ता गरेका थिए ।
भ्रमणको क्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष र रुसको माथिल्लो सभा फेडेरेसन काउन्सिलका अध्यक्ष भ्यालेन्टिना मामऐन्कोबीच अन्तर–संसदीय सहयोग सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए ।
भ्रमणका क्रममा उनले विदेश मन्त्रालय अन्तर्गतको मस्को स्टेट इन्टिट्यूश अफ इन्टरनेशनल रिलेशन्सका विद्यार्थीहरूलाई सम्बोधन गर्नुका साथै नेपाली उद्यमी व्यवसायी टोली र गैरआवासीय नेपाली सहित उपविदेशमन्त्री र रसियन च्याम्बर अफ कर्मशसँग भेटवार्ता गरेका थिए । नेपाल न्युज बैंक