काठमाडौंः सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने बताए । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने बताए।

एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो बिजनेस पाउन सकेका छैनन् । गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ । कुवेतको जजीरा एयरले एक वर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । रासस