इटहरीः नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका सबै खालका भ्रष्टाचारका विरुद्ध नेकपा (एकीकृत समाजवादी) मोर्चा संगठनले इटहरीमा रिले अनशन बस्ने घोषणा गरेको छ ।

जेठ ६ गते बसेको मोर्चा संगठन प्रदेश कमिटिको बैठकले प्रदेशमा क्रियाशील सबै जनसंगठनको सहभागिता इटहरीमा आउने जेष्ठ ९ गते बिहान ८ बजेबाट रिले  बस्ने निर्णय सहित घोषणा गरेको  नेकपा (एकीकृत समाजवादी)का सुनसरी उपसचिव तथा युवा इन्चार्ज राजेश भण्डारीले जानकारी दिएका छन । 

उप सचिव भण्डारीका अनुसार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा मोर्चा संगठनका प्रदेश प्रमुख केशवकुमार बिष्टको अध्यक्षतामा प्रदेश पार्टी कार्यालय इटहरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । रिले अनशन प्रत्येक दिन ३ बजेदेखि विभिन्न वक्ताहरुको मन्तव्य सहित भ्रष्टाचार विरोधी सांस्कृतिक कार्यक्रम पनि रहेको छ । 

346162470_1594356454377069_6187528311881242153_n

प्रदेशमा क्रियाशिल पार्टीका सबै जनसंगठनलाई सहभागि र परिचालित गरी रिले अनशन सञ्चालन गरिने भण्डारीले बताए । अनशनको पहिलो दिन अनेमसंघले सञ्चालन गर्नेछ । १२÷१२ घण्टाको सिफ्टमा अनशन सञ्चालन हुने र एउटा सिफ्टमा न्यूनतम ६ जना र बढीमा १० जना सम्मको संख्या रहने भण्डारीले जानकारी दिए  । 

अनशनमा जेठ १० गते बुद्धिजीवी, ११ गते ट्रेड युनियन, १२ गते युवा संघ, १३ गते, पेशागत महासंघ, १४ गते भूपू सैनिक तथा प्रहरी र १५ गते दलित मुक्ति संगठनले अनशन सञ्चालन गर्ने कार्यक्रम निर्धारण भएको उप सचिव भण्डारीले बताए । 

१५ गतेपछि पनि अनशन निरन्तर सञ्चालन हुनेछ । सुनसरी मोर्चा संगठनको संयोजन र इटहरी पार्टी कमिटिको व्यवस्थापन रहने उनको भनाई छ । रिले अनशन सञ्चालनका लागि ७ सदस्यीय मुल समिति समेत बनाइएको भण्डारीले बताए  ।

348383339_930749621530597_7918861319841319694_n