पोखराः वर्दिया राष्ट्रिय निकुञ्ज वरपरका पर्यटन व्यवसायी निकुञ्ज एवं त्यस वरपरको पर्यटकीय प्रवर्धनका लागि पोखरा आइपुगेका छन् । शुक्रबार उनीहरुले पोखराका पर्यटन व्यवसायीलाई वर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, गैंडा, हात्ती, अन्य जनावर र डल्फिनका साथै चराचुंगी र वरपरको संस्कृतिको बारेमा समेत अनुभवसहितको जानकारी गराएका छन् । साथै वर्दिया राष्ट्रिय निकुञ्जमा लिएर गएका पर्यटकलाई अनिवार्य रुपमा बाघ भेटाउने प्रतिवद्धता समेत जनाएका छन् ।

वर्दिय राष्ट्रिय निकुञ्ज बन्यजन्तुमा आधारित पर्यटन प्रर्वधन कार्यक्रम कार्यक्रमका अध्यक्ष पवन थापाले निकुञ्ज पुग्ने पर्यटकलाई निरास नपारिने बताए । उनले पर्यटकीय सहर पोखराका पर्यटन व्यवसायीलाई बर्दिय घुम्न र पर्यटक ल्याउन निम्तो दिए । ‘हामी पोखराका पर्यटन व्यवसायीलाई वर्दिया राष्ट्रिय निकुञ्जमा स्वागत गर्न आतुर छौं । यहाँ र यहाँहरुले ल्याउने पर्यटकलाई बाघसंग भेटाउने हामी ज्ञारेन्टी नै लिन्छौं । ढुक्क भएर आउँदा हुन्छ’ उनले भने । उनले कार्यक्रम लिएर पोखरा आएको र अब संघीय राजधानी काठमाडौं पुग्ने अनि चितवनको सौरहामा समेत प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जानकारी दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बिना प्रवद्र्धन पर्यटन क्षेत्र चलायमान हुन नसक्ने धारणा राखे । उनले पछिल्ला दिनमा पोखरा महानगरपालिकासंग पर्यटन व्यवसायीले सहकार्य गरेर गरेका प्रवद्र्धनात्मक कार्यक्रमकै कारण यस क्षेत्रमा कोरोना कहर पस्चात केही भएपनि चलायमान भएको अनुभव सुनाए । ‘विना प्रवद्र्धन पर्यटकीय क्षेत्र चलायमान हुन सक्दैन । हामीले पोखरा महानगरसंग सहकार्य गरेर विविधढंगले प्रवद्र्धनात्मक कार्यक्रम चलाएका छौं । जसका कारणले कोरोना कहरपछि अहिले केही मात्रामा भएपनि यस क्षेत्रमा पर्यटन क्षेत्र चलायनमान भएको छ ।’ उनले भने, ‘वर्दिया राष्ट्रिय निकुञ्ज र त्यस वरपरको पर्यटकीय क्षेत्र पनि पक्कै चलायमान बन्नेछ ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले वर्दिया राष्ट्रिय निकुञ्जमा पोखराबाट जाउँ है पोखरा अभियान लिएर पुगेको स्मरण गर्दै आफूहरुले हरेक रष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रममा निकुञ्जलाई एक उत्किृष्ठ पर्यटकीय गन्तव्यको रुपमा चित्रित गर्ने गरेको उल्लेख गरे । टान पोखराका अध्यक्ष धर्मराज पन्थीले आफूहरुको पनि प्राथमिकतामा वर्दिया राष्ट्रिय निकुञ्ज रहेको बताए ।

उक्त अवसरमा बोल्दै सुनिल तन्दुकरले बर्दिया राष्ट्रिय निकुञ्जमा फ्रान्सेली पर्यटकले घुम्दा लिएको आनन्दको बारेमा जानकारी दिए । उनले फ्रान्सेली पर्यटकले विश्वकै दुर्लभ निकुञ्जको रुपमा वर्दिया राष्ट्रिय निकुञ्जलाई लिने गरेको उनले बताए । फ्रान्सेलीको नजरमा विश्वमै उत्कृष्ठ निकुञ्ज भएर पनि प्रचार प्रसारको कमि औंल्याउने गरेको भन्दै उनले फ्रान्सेली भाषामा समेत निकुञ्जको बारेमा केही लेखेर जानकारी गराउनुपर्ने बताए । यसले प्रवद्र्धनमा फाइदा पुग्ने उनको भनाई छ ।

चरा विशेषज्ञ राम शाहीले उक्त निकुञ्जमा ५१३ प्रजातीका चराचुरंगी पाइने जानकारी दिँदै चरा हेर्ने पर्यटकका लागि पनि वर्दिया राष्ट्रिय निकुञ्ज उत्कृष्ठ गन्तव्य रहेको बताए । नेचरगाइड सुशीला महतराले राम्रो समय र मौसममा निकुञ्जमा बाघ, हात्ति, गैंडा, चितुवा र डल्फिन हेर्न पाइने बताइन् । उनले आफूले पर्यटकलाई एक घण्टाको अन्तरालमा अलग तीन ठाउँमा पर्यटकलाई बाघ देखाउन पाएको अनुभव सुनाइन् ।

गाइड कृष्ण शाहले आफूले बाघसंग गरेको जम्काभेटको अनुभव सुनाए । बाघ लज्जालु स्वभावको हुने भन्दै उनले आफूलाई असुरक्षीत नठान्दासम्म बाघले आक्रमण नगर्ने बताए । ‘बाघ सुन्दा हामीलाई आक्रामक लाग्छ । तर, त्यसो होइन’ उनले भने, ‘यसले आफूलाई असुरक्षीत महसुस् नगर्दासम्म हामीलाई केही गर्दैन’ उनले भने ।

अर्का गाइड राज चौधरीले बाघ ‘पृथ्वीको मास्टर पिसेस्’ भएको चर्चा गर्दै प्राकृतिक रुपमा बाघ हेर्ने स्थल बर्दिया राष्ट्रिय निकुञ्ज एक उत्कृष्ठ स्थल रहेको बताए । उनले बाघ एक्लै बस्न रुचाउने, निर्धारित क्षेत्र लिएर बस्ने र मानवीय अतिक्रमणले गर्दा संकटमा रहेको सुनाए । हाल विश्वका १३ ।देशमा चार हजार ८०० बाघ रहेको तथ्यांक रहेको भन्दै उनले प्राकृतिक रुपमा हेर्नपाइने भनेको नेपालमा मात्र रहेको उनको भनाई छ ।