काठमाडौंः साढे दुई अर्ब लगानीमा सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा गत साताबाट पाँचतारे होटेल ‘सिद्धार्थ भिलासा’ सञ्चालन गरेको छ । एक महिनाअघि मात्रै पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको थियो । काठमाडौंबाट नजिकै काभ्रेको धुलिखेलमा ८५ कोठाको पाँचतारे ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनको तयारीमा छ ।

साढे दुई अर्ब लगानीको होटेल जुलाईभित्रै सञ्चालनमा आउनेछ । यस्तै, झापामा दुईवटा पाँचतारे सञ्चालनमा आइसकेका छन् भने थप दुईवटा निर्माण भइरहेका छन् । घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेले सिमराको इच्छा होटेललाई स्तरोन्नति गरी मधेस प्रदेशकै पहिलो पाँचतारे होटेल बनाए । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारेकेही वर्षयता मोफसलमा ठूला पाँचतारे होटेलमा लगानी गर्ने होडबाजी चलिरहेको छ । पूर्वको झापादेखि पश्चिमको बाँकेसम्म दर्जन पाँचतारे होटेल सञ्चालनमा छन् । अझै थप १३ वटा पाँचतारे निर्माणाधीन छन्, जसमा करिब साढे ३२ अर्ब लगानी हुँदै छ । 

निर्धारित समयभित्र निर्माण सम्पन्न भए सन् २०२५ सम्म मोफसलमा मात्रै पाँचतारेको संख्या २५ पुग्ने देखिन्छ । सञ्चालनमा रहेका पाँचतारेमा एक हजार २५१ कोठा छन् । नयाँ होटेलका एक हजार ५१२ कोठा थपिँदा पाँचतारेमा कोठा संख्या दुई हजार ७६३ पुग्नेछन् । अहिले काठमाडौंभित्र ११ वटा पाँचतारे सञ्चालनमा छन् । काठमाडौंबाहिर सञ्चालित १२ पाँचतारे होटेलमध्ये नौवटाले पर्यटन विभागबाट पाँचतारा लिइसकेका छन् । भैरहवाको पवन प्यालेस र सिद्धार्थ भिलासा तथा काभ्रेमा यसै महिनादेखि सञ्चालनमा आउने दुसित थानी हिमालय रिसोर्टले पाँचतारा लिन बाँकी छ । ‘क्विन टावर’ ०८० फागुनदेखि सञ्चालनको लक्ष्य छ ।

फूलबारी रिसोर्ट मोफसलकै पहिलो 
काठमाडौंबाहिर पहिलो पाँचतारे पोखरामा ‘फूलबारी रिसोर्ट एन्ड स्पा’ खुलेको थियो । सन् १९९६ मा खुलेको फूलबारी रिसोर्टलाई देशमै पहिलोपटक ‘स्पा कल्चर’ भित्र्याएको श्रेय जान्छ । अमात्य परिवारले सञ्चालनमा ल्याएको रिसोर्ट अहिले विविध कारणले बन्द छ । एक समय फूलबारी एसियाकै उत्कृष्ट रिसोर्टमध्येमा दहरिन्थ्यो । दोस्रो पाँचतारेका  १७ वर्षअघि ‘पोखरा ग्रान्ड’ होटेल खुल्यो, जसमा १४० कोठा छन् । 

बाराही हस्पिटालिटी ग्रुपले पोखराको पामेमा पाँचतारे ‘सेदी लक्जरी रिसोर्ट’ निर्माण गरिरहेको छ । रिसोर्ट निर्माण कार्य ४२ प्रतिशत सम्पन्न भएको ग्रुपका अध्यक्ष विप्लव पौडेलले बताए । साढे पाँच अर्ब लगानी रहने रिसोर्टमा १८५ कोठा हुनेछन् । ११ वटा भिल्ला (घर) रहनेछन् । ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन आयोजना गर्न मिल्ने गरी रिसोर्ट निर्माण भइरहेको उनको भनाइ छ । 

रूपन्देहीमा तीनवटा सञ्चालन,चारवटा तयारीमा 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै भैरहवाका होटेलमा लगानी ओइरिएको छ । तीनवटा पाँचतारे सञ्चालनमा आइसकेका छन् भने चारवटा निर्माणाधीन छन् । बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले कोटिहवामा पाँच अर्ब लगानी गरेर टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ । एक सय दुई कोठा रहेको यो लुम्बिनी क्षेत्रको पहिलो पाँचतारे रिसोर्ट हो ।

भैरहवाको अञ्चलापुरमा खुलेको सिद्धार्थ भिलासामा साढे दुई अर्ब लगानी छ, जहाँ ८५ कोठा छन् । चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ठूलो क्यासिनो राख्ने सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बताए । उनले भने, ‘हामीले लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई लक्षित गरेर पाँचतारे होटेलमा लगानी गरेका हौँ ।’

13.gif'_'.2023-07-06

लुम्बिनीनजिकै पवन प्यालेस सञ्चालनमा छ । तीन बिघामा रहेको होटेलमा साढे दुई अर्ब लगानी भएको छ, जसमा १४७ कोठा छन् । अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पर्यटक ओइरिने आसमा पवन कुमार हलुवाइले पाँचतारे होटेल निर्माण गरेका हुन्, तर पर्यटक नआउँदा होटेल बिक्रीमा राखेका छन् ।

भैरहवाकै बुद्धचोकमा तीन अर्ब लगानीमा १०३ कोठाको एसियन इन्टरनेसनल रिजेन्सी होटेल सञ्चालनको अन्तिम तयारीमा छ ।भैरहवाकै लुम्बिनी रोडमा बहुराष्ट्रिय चेन होटेल ‘होली डे इन’ निर्माण भइरहेको छ । एक अर्बभन्दा बढी लगानीमा १२५ कोठाहरू रहने होली डे इनका सञ्चालक सुरज उप्रेतीको भनाइ छ । भैरहवाको बेलहियामा साढे दुई अर्ब लगानीमा ११७ कोठाको पाँचतारे ‘मेघा–टु’ होटेल निर्माण भइरहेको छ । बुटवलको सुक्खानगरमा पनि डेढ अर्ब लगानीमा १०८ कोठाको सफ्रोन होटेल बनिरहेको छ । दुवै होटेलमा सिभिल स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको सञ्चालकले बताएका छन् ।

आइएमई समूहले पाल्पाको वसन्तपुरमा केबुलकारसहितको पाँचतारे होटेल निर्माण गर्दैै छ । बुटवलबाट वसन्तपुर जोड्ने २.६ किलोमिटर लामो केबुलकार सञ्चालनमा आइसकेको छ । वसन्तपुरमा १५० कोठाको पाँचतारे रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, ब्यांक्वेट, स्विमिङ पुल, बाल उद्यानलगायत निर्माण गरिने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘केबुलकारमा डेढ अर्ब लगानी भइसकेको छ,’ उनले भने, ‘रिसोर्टसहित सबै पूर्वाधार निर्माण सकिँदा लगानी पाँच अर्ब पुग्ने अनुमान छ ।’ 

 बाँकेमा दुईवटा पाँचतारे 
पश्चिम नेपालको व्यापारिक सहर बाँकेमा दुईवटा पाँचतारे होटेल सञ्चालनमा छन् । नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियम र कोहलपुरमा होटेल सेन्ट्रल प्लाजा सञ्चालनमा छन् । मानसरोवर जाने भारतीय पर्यटकलाई लक्षित गरेर पाँचतारे होटेल खुलेका हुन् । दुवै होटेलमा ८०–८० कोठा छन् ।

झापामा दुई सञ्चालन, दुई थपिँदै 
झापाको धुलाबारीमा १०१ कोठाको होटेल मेची क्राउन र बिर्तामोडमा ८२ कोठाको होटेल द किंग्सवरी सञ्चालनमा छन् । ०७७ असोजमा खुलेको होटेल मेची क्राउन पूर्वी नेपालकै पहिलो पाँचतारे होटेल हो । झापामै थप तीनवटा पाँचतारे सञ्चालनमा आउँदै छन् । व्यवसायी दुर्गा प्रसाईंले साढे चार अर्ब लगानीमा ‘एट्रियम क्यासिनो होटेल’ ल्याउँदै छन् । चार बिघा क्षेत्रफलमा बनेको होटेलमा पाँचवटा भिल्लासहित ११५ कोठा हुनेछन् । झापाको मेचीनगर–१० मा अर्को पाँचतारे होटेल इस्टर्न नेपाल सञ्चालनमा आउँदै छ । १८ रोपनी क्षेत्रफलमा रहने होटेल इस्टर्नमा ८७ कोठा रहने र एक अर्ब ६९ लाख लगानी हुने बताइएको छ । 

 इटहरीमा खुल्यो, विराटनगरमा खुल्दै
इटहरीमा पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी भीम पौडेल र बलराम आचार्यको डेढ अर्ब लगानी रहेको होटेलमा सोल्टी समूहले व्यवस्थापन सम्हालेको छ । ८५ कोठाको होटेल पाँचतारास्तरमा वर्गीकरण भइसकेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

व्यवसायी देशबन्धु बस्नेतले इटहरीमै ‘रमडा’ ब्रान्डमा पाँचतारे होटेल सञ्चालनमा ल्याउन लागेका छन् । इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेललाई अमेरिकी विन्डहाम होटेल्स एन्ड रिसोर्टको चेन ब्रान्ड ‘रमडा’ले सञ्चालन गर्ने सम्झौता भइसकेको छ । २०२४ बाट सञ्चालनमा आउने आठ तलाको  ८० कोठा रहने होटेलमा एक अर्ब लगानी हुनेछ । सेन्चुरी ग्रुपले विराटनगरमा मलसहितको पाँचतारे होटेल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय चेन ब्रान्ड ¥याडिसनले व्यवस्थापन सम्हाल्ने होटेलमा तीन अर्ब लगानी हुनेछ । कोभिड महामारीका कारण होटेल सञ्चालनमा केही ढिलाइ भएको सेन्चुरी ग्रुपका निर्देशक आदित्य दुगडले बताए ।

 इच्छा मधेसकै पहिलो, काभ्रेमा दुसित थानी
बाराको सिमरास्थित इच्छा होटेलले पर्यटन विभागबाट १३ चैत ०७९ मा पाँचताराको प्रमाणपत्र पाएको छ । दुई बिघामा बनेको होटेलमा स्तरोन्नतिपछि सय कोठा पुगेका छन् भने लगानी पनि डेढ अर्ब पुगेको छ । सञ्चालक वाग्लेले भने, ‘होटेल व्यवस्थापनमा बहुराष्ट्रिय ब्रान्ड ल्याउन ‘अलफ्ट’सँग कुरा चलिरहेको छ ।’ 

काभ्रेको धुलिखेलमा पनि पाँचतारे रिसोर्ट तयार भएको छ । यही जुलाई महिनामै रिसोर्ट सञ्चालनमा आउने बताइएको छ । धितोपत्र बोर्डको अध्यक्ष रहेका रमेश हमालको नेतृत्वमा साढे दुई अर्बमा ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आउन लागेको हो । दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । उनले भने, ‘रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन्, रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

 कहाँ–कहाँ बन्दै छन् पाँचतारे
तनहुँको बन्दीपुरमा पाँचतारे होटेल सञ्चालनको अन्तिम तयारीमा छ । ‘क्विन टावर’ टावर नाम दिइएको १७ तले होटेलमा ८२ कोठा हुनेछन् । केबुलकारसहितको होटेलमा साढे तीन अर्ब लगानी हुनेछ । होटेलमा मात्रै साढे दुई अर्ब लगानी रहने सञ्चालकमध्येका एक रामचन्द्र शर्माले बताए । २१ जना मान्छे बोक्ने, दुईवटा सिसैसिसाको पारदर्शी र ६ वटा रेस्टुरेन्ट (रेस्ट्रो–कार) गन्डोला रहेको केबुलकार एक–डेढ महिनाभित्रै सञ्चालनमा आउनेछ । होटेल फागुनसम्म सञ्चालमा आउनेछ ।

रामेश्वर शाहले चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याउँदै छन् । ८५ करोड लगानी गरेर ३४ रोपनीमा निर्माण भइरहेको रिसोर्टमा ६४ कोठा रहने शाहले बताए । यो रिसोर्ट फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सञ्चालन गर्नेछ । यो चितवनकै पहिलो पाँचतारे रिसोर्ट हुनेछ ।एनआरएनहरूको समूह आइडिया ग्रुपले सुदूरपश्चिमको कैलाली अत्तरियामा दुई बिघामा क्यासिनोसहितको पाँचतारे होटेल बनाउँदै छ । दुई अर्ब लगानी हुने १५० कोठाको होटेलमा पोखराको सौभाग्य रियलस्टेट एन्ड कम्पनी पनि लगानीकर्ता छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।