तनहुँः दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले ०८० भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा विरोध प्रर्दशन गरेका छन् ।

शारीरिक अशक्त भएका व्यक्तिहरुको जिल्ला स्तरीय सङ्घर्ष समितिको आह्वानमा भेला भएका अपाङ्गता भएका व्यक्तिहरुले उक्त भवन पुर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रक्रिया तत्काल सुरु नभए आन्दोलन कार्यक्रम गर्ने चेतावनी दिए । संघर्ष समितिका संयोजक मदन पौडेलले आफुहरुले यस अघि पटक पटक उक्त भवन अपाङ्गमैत्री नभएको भन्दै विभिन्न सरोकारवाला निकायमा ध्यानाकर्षण गराइसकेपनि कुनै सुनवाई नभएको बताए ।

शारीरिक अशक्त भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा बनेको ऐन २०७४ मा उल्लेख भए बमोजिम उक्त भवन अपाङ्गमैत्री बनाउनु पर्ने माग पौडेलले बताए । अपाङ्गमैत्री भौतिक पूर्वाधार, सूचना तथा प्रविधियुक्त वातावरणमा सेवा प्राप्त गर्ने अधिकार ऐनमा उल्लेख भएपनि सो कार्यान्वयन नभएकोले विरोध गरिएको पौडेलले बताए ।

गत साउन ७ गते सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा उक्त सभागृह हलको अवलोकन गरिएको र सो अवलोकनका क्रममा भवन अपाङ्गमैत्री नभएको पाइएको पौडेलले बताए । भवन अपाङ्गमैत्री बनाउनु पर्ने माग राख्दै साउन १० गते जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायत विभिन्न सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनु भयो । यसैगरि साउन २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको  परीक्षण गरेका थिए  ।

उक्त परीक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप  मानवमैत्री र अपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न आग्रह गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघले साउन २८ गते संघीय सरकारको शहरी विकास मन्त्रालय शहरी विकास भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ पोखरा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको थियो । शारीरिक अशक्त भएका व्यक्तिहरुलाई समाजबाट झनै एक्ल्याउने मनसायबाट यस्ता भवनहरुको निर्माण भएको ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको थियो । भवन पूर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएकोले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिले जनाएको छ ।

सहृदयी मञ्च तनहुँले ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको समयसिमा भित्र यस सुझावहरुको अक्षरस पालनागरि उक्त भवन पुर्णरुपमा अपाङ्गतमैत्री बनाउने प्रक्रिया सुरु नभएको खण्डमा भाद्र १ गते देखि अपाङ्गता भएका व्यक्तिहरु चरणवद्ध आन्दोलनमा उत्रने र सो समयमा उत्पन्न हुने सम्पुर्ण परिस्थितिहरुको जिम्मेवार सरकार नै हुने जनाएको थियो ।  संघर्ष समितिले भवनलाई पुर्ण अपाङ्गमैत्री नबनाएसम्म भवन उद्घाटन गर्न नदिइने बताएको छ ।