सिन्धुपाल्चोकः त्रिपुरासुन्दरी गाउँपालिका २, चोकटीको गुवाँथली स्थित   गोल्माराजा आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकलाई गृहकार्य नगरेको आरोपमा कुटपिट गरी यातना दिएको भन्दै ०८० भदौ २ गते विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका प्रधानाध्यापक रामानन्द शाहलाई बर्खास्त गरेको छ ।

पीडित बालकलाई प्रधानाध्यापक शाहले भदौ १ गते गृहकार्य नगरेको आरोपमा कक्षा कोठाभित्र लाठ्ठी प्रहार गरी यातना दिएको आरोप छ ।

प्रधानाध्यापकको कुटाइबाट घाइते बालकको खुट्टामा गहिरो चोट लागेको पीडितका बुबा राज थामीले बताए । पीडितका बुबा राज थामीका अनुसार घाइते बालकको भदौ १ गते खाडीचौर अस्पतालमा उपचारको लागि लगेकोमा सो अस्पतालले धुलिखेल अस्पताल रिफर गरी भदौ २ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनापछि आरोपित शिक्षक शाह फरार भएको स्थानिय ध्रुवराज गुरुङले बताए । प्रधानाध्यापक शाहलाई त्रिपुरासुन्दरी गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण मागेको तर फरार रहेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।

बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा भदौ २ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आरोपित प्रधानाध्यापकलाई प्रधानाध्यापक पदबाट हटाउने, पीडित बालकको उपचार खर्च ब्यहोर्नु पर्ने सहितको स्पष्टीकरण माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर गुरुङले बताए।

पीडित पक्ष कानुनी कार्बाहीको लागि प्रहरी कार्यालय जान तयारी भएकोमा आरोपित प्रधानाध्यापकले उपचार खर्च ब्यहोर्न तयार छु भनि टेलिफोनबाट बताएपछि हाल प्रहरी कार्यालय जान रोकिएको स्थानीय ध्रुवराज गुरुङले बताए।