धनुषाः  प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको हिजो बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए ।

विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए ।  । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा विसं २००२ भदौ १९ गते भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका थिए । उनले विसं २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेका थिए ।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएका थिए । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेका थिए ।

उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।