सल्यानः नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला आएका मन्त्री प्रकाश ज्वालाले आफूहरूले गरेको कामको नतिजा देखिन थालेको बताएका छन  । 

बिहीबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सडकको काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उनले बताए । यसबारे कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको भनाई छ । राप्ती राजमार्गको सुधारको केही काम भएको उल्लेख गर्दै उनले आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका व्यथिती हटाउन केही काम अघि बढाइएको बताए । उनले भने, ‘अहिले पनि सवारी चालक अनुमति पत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ ।’ 

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाइने उनको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको बिगबिगी अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिसकेको भन्दै उहाँले एक महिनाभित्र देशैभरि अनलाइन प्रणाली कार्यान्वयनमा आउने जनाए। सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुङ्गो लागिसकेको पनि मन्त्री ज्वालाले बताए। 

असोज ३ गते संविधान दिवसको अवसर पारेर धुलो, हिलो र जाम रहित राजधानी बनाउनका लागि महत्वपूर्ण कार्यक्रम सुरु गर्न लागेको पनि उनले जानकारी गराए । ज्वालाका अनुसार राजधानी काठमाडौँमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी छ । पहिलो चरणमा रत्नपार्क देखी सूर्यविनायक सम्म बिहान २ घण्टा र बेलुकी २ घण्टा द्रुत बस सेवा सञ्चालन हुनेछ । द्रुत बस सेवामा जोडिएका गाडिमात्रै सञ्चालनका लागि छुट्टै सडक लेनको व्यवस्था हुने र यसले जाम पनि नहुने र निकै छोटो समयमा यात्रुहरू गन्तव्यमा पुग्न सक्ने यातायात मन्त्री ज्वालाको अपेक्षा छ । 

आफ्नो मन्त्रालय विभिन्न सेटिङ, बिचौलिया, मिलेमतो र अनुचित सम्बन्धको घेराभित्र रहेकोमा यस्ता विषयमा प्रश्न नउठ्ने गरी काम अघि बढाइएको उनले बताए । मन्त्री ज्वालाले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पार्ने क्रियाकलाप रोकिएको छ । योजना अलपत्र पर्ने तर व्यक्ति मोटाउने रोग पनि एक किसिमले समाधान गरेका छौँ ।’ पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य उदय बहादुर वोहरा लगायतको पनि सहभागिता थियो । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ सल्यानका सचिव टिकाराम भण्डारीले गरेका थिए ।