म्याग्दीः हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि असोजको तेस्रो हप्ता ‘घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव २०८०’ आयोजना गर्ने भएको हो ।
असोज १८ देखि २० गतेसम्म मुस्ताङको जोमसोममा पर्यटन तथा कृषि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । हिमालपारिको जिल्लामा उत्पादित कृषिउपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, मुस्ताङको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्ला हो भन्ने सन्देशलाई पर्यटकसामु परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
अध्यक्ष लालचनले महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुने बताए । महोत्सव सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन भएको जानकारी दिए । गाउँपालिकाले आफूले छुट्टै आम्दानी गर्ने भन्दा पनि जिल्लाभित्रका व्यवसायीले एक करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरिएको अध्यक्ष लालचनको भनाइ छ ।
उनले भने, “आलु, स्याउ, सिमी, स्याउका अन्य उत्पादन, ब्रान्डी, साइडर, सुकुटीलगायतका परिकारबाट राम्रो व्यापार हुने अनुमान छ । पर्यटकीय सिजनको पनि सुरुआत भएको हुनाले जोमसोममा हुने महोत्सवले राम्रो प्रभाव पार्ने उनले जानकारी दिए ।
मुस्ताङमा हुने महोत्सवको उद्घाटन असोज १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको अध्यक्ष लालचनले बताए ।
कृषि अन्तर्गत घरपझोङ गाउँपालिकास्तरीय कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने जनाइएको छ ।
घरपझोङ गाउँपालिकाले आयोजना गर्ने महोत्सवमा खुल्ला आर्चरी (तारा खेल) प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी महोत्सवकै अवसरमा आयोजना हुने खुला भलिबल खेलको विजेताले नगद एक लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।
महोत्सवको अवसरमा कृषकबिचमा प्रतिस्पर्धा गर्नका लागि सात वटा फरक विधामा कृषि प्रदर्शनीमा पनि पहिलो दोस्रो र तेस्रो पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । महोत्सवकै अवसरमा मुख्यमन्त्रीबाट गाउँपालिकाको भवनको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रमुख अधिकारीले बताए ।