भरतपुरः  चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई पोथी गैँडा स्थानान्तरण गरिने भएको छ । कोशी पठाइने गैँडालाई नियन्त्रणमा लिइएको छ । निकुञ्जका प्राविधिक टोलीले गैँडालाई नियन्त्रणमा लिई खोरमा राखी सकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडालाई आजै कोशी टप्पु पठाइँदै छ । 

वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार पुष्पा र अञ्जलीलाई  स्थानान्तरण गर्न लागिएको हो । पूर्वी नेपालमा रहेको कोशी अहिले गैँडा विहीन अवस्थामा छ । सरकारले कोशीमा गैँडाको वासस्थान विस्तार गर्ने उद्देश्यले सो स्थानान्तरण गराउन लागेको हो । कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत रमेश यादवले गैँडा आफूहरुकालागि नयाँ जनावर पाहुना भएको बताउँदै यसको राख्ने ठाउँ सबै तयारी पुरा गरिएको बताए । 

चितवनबाट अहिले सम्म नेपालका विभिन्न निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा सय गैँडा स्थानान्तरण गरी सकिएको छ । निकुञ्जले पहिलो पटक २०४२ साल माघमा १३ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेको थियो । यो निकुञ्जमा अहिले सम्म चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरी सकेको निकुञ्जमा तथ्याङ्क छ । 

सन् २०२१ को गणना अनुसार नेपालमा ७५२ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवन  निकुञ्जमा मात्रै ६९४ गैँडा छन् ।