कञ्चनपुरः इजरायल घटनामा परी बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको परिवारले उनको खोजिकार्य गरी उद्धार गरिदिन सरकार र दूतावाससँग अनुरोध गरेको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययन पश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको अवस्था अहिलेसम्म अज्ञात छ । सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकोले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेका छन् । 

विपिनको घरपरिवार यति बेला भाव विह्वल भएको छ । घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी भइरहेको छ । सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । उनीहरूमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा आक्रमण हुँदा महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ । 

WhatsApp Image 2023-10-09 at 16.52.33

उक्त घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी मध्ये ७ जना सुदूरपश्चिमका छन् । कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष् चौधरी, दार्चुलाको लेकमका दीपेशराज बिष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको दूतावास स्रोतले जनाएको छ । सुदूरपश्चिमबाट गएका ७ नेपाली विद्यार्थी मारिएको खबर पाएपछि यति बेला सुदूरपश्चिम शोकमा डुबेको छ । सोही घटनामा परेका धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार र सल्यानका प्रवेश भण्डारीले समेत ज्यान गुमाएको बताइएको छ । 

कैलालीको टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रवीण डाँगी र सल्यानका विधान सेजवालको उपचार भइरहेको खबर छ । कैलालीको भजनी त्रिशक्तिका वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी भने सुरक्षित रहेको जनाइएको छ ।