सप्तरीः  डाक्नेश्वरी नगरपालिका–५ मा रहेको कन्तचन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा नै लाखौँ रकम हिनामिना भएको खुलेको छ । 

विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री तथा भौतिक स्रोतसाधन जुटाउन नमुना विद्यालय अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट ४९ लाख रुपियाँको अनियमितता भएको आरोप छ । विद्यालयका प्रधानाध्यापक शरदकुमार देवले चार महिनादेखि आफू प्रधानाध्यापकका रूपमा कार्यरत रहे पनि कुनै पनि कागजात जिम्मा नलगाइएको बताए । पूर्वप्रधानाध्यापक योगेन्द्रप्रसाद मेहताले विद्यालयको आर्थिक तथा अन्य हिसाब विद्यालय प्रशासनलाई गर्नुपर्ने बरबुझारथसमेत नगरेको उनले बताए ।

हिसाबकिताब र निर्णय पुस्तिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीले नै राख्दै आएको बताउँदै उनले पटक पटक माग गर्दा पनि हस्तान्तरण नगरिएको जनाए । “यो सामान, त्यो सामान खरिद गर्छु भन्दै विभिन्न व्यक्तिका नाममा पटक पटक गरी ४९ लाख रुपियाँको निकासा भइसकेको छ, उक्त रकमबाट किनेको न कुनै सामान देखाउँछन् न त कुनै बिल भर्पाई नै छ,” प्रधानाध्यापक देवले भने ।

विद्यालयको अभिभावक समिति, स्थानीय युवा विद्यालयमा भएको अनियमितताबारे अनुगमन र छानबिन गर्न नगरपालिकालाई पटक पटक अनुरोध गर्दा पनि प्रधानाध्यापक र नगरपालिकाका पदाधिकारी विभिन्न बहाना बनाएर पन्छिँदै आएको स्थानीय युवक अमरेन्द्रकुमार यादवले आरोप लगाए ।

2_22

1_20

विद्यालयका निवर्तमान प्रधानाध्यापक मेहताले नगरपालिकाका पदाधिकारी र विद्यालय निरीक्षकले आफूलाई गैरकानुनी तवरले प्रधानाध्यापकबाट हटाएर देवलाई प्रअ बनाएको र त्यसविरुद्ध पालिकामा निवेदनसमेत दिएको बताए। “निवेदनउपर कुनै कारबाही अगाडि बढेको छैन, मैले बुझाउनुपर्ने हिसाबकिताब विद्यालय व्यवस्थापन समितिलाई बुझाइसकेको छु,” उनले भने ।

अनियमितताबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसँग पटक पटक सम्पर्क प्रयास गर्दासमेत सम्पर्क हुन सकेन । नगरपालिकाको शिक्षा शाखा प्रमुख तथा विद्यालय निरीक्षक कृष्णा यादवले पनि त्यस विषयमा कुरा गर्न चाहेनन । विभिन्न आवमा भएको आर्थिक अनियमितता, खरिद प्रक्रिया र शिक्षकहरूको कामकारबाही सन्दर्भमा भदौ ७ गते नै वडा कार्यालयले चिठी लेखेर विद्यालय प्रशासनसँग सूचना माग गरेको थियो । 

माग गरिएबमोजिमको सूचना र कागजात नभएको भन्दै विद्यालय प्रशासनले वडा कार्यालयलाई सूचना उपलब्ध गराएको छैन । सूचनाको हक अन्तर्गत सूचना दिन नसकेको कारणबारे विद्यालयकै लेटरप्याडमा जवाफ लेखेर असोज २२ सोमबार नै वडा कार्यालयलाई पठाइसकेको प्रधानाध्यापक देवले जानकारी दिए ।

यस विद्यालयमा नमुना विद्यालय अन्तर्गत सङ्घीय सरकारको प्रत्येक वर्ष करोडौँ रकम आउने गरेको छ । गत आव २०७८÷७९ मा आएको डेढ करोड रुपियाँमध्ये आइसिटी कार्यक्रमका लागि एक करोड रुपियाँ खर्च भएको थियो । उक्त कार्यक्रम अन्तर्गत खरिद गरिएको कम्प्युटरलगायतका स्रोतसाधन दुई वर्ष बितिसक्दा पनि विद्यार्थीको पठनपाठनमा प्रयोग भएको छैन । कम्प्युटरलगायतका सामग्री विद्यालयको गोदाममा ताल्चा लगाएर राखिएको स्थानीय युवक यादवले बताए । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।