बेलबारी/ बेलबारी–२ का सन्तबहादुर बोखिम अहिले ठमठम हिँड्न थालेका छन् । लामो समयदेखि मानसिक रोगका कारण खर्च अभावमा घरमै थला परेर बसेका लिम्बूको २ सामाजिक संस्थाले उपचार गरिदिएपछि उनी हिँड्न सक्ने भएका हुन् ।

‘हामीसँग खर्च थिएन । घरमै बसेका थियाँै,’ सन्तबहादुरकी भाउजू कविता लिम्बूले भनिन्, ‘हेल्पिङ हेन्ड्स र मायालु हात नामक सामाजिक सस्थाले देवरको उपचार गरिदियो ।’ केही महिना अघि यी २ संस्थाले चन्दा संकलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा नोबेल मेडिकल कलेज विराटनगरमा उनको उपचार गराएका थिए ।

‘लिम्बू बिरामी छन् भन्ने थाहा पाएर हामी उनको घरमा पुग्दा मान्छेलाई ढुंगा हान्दै गरेको अवस्थामा भेट्यौँ,’ मायालु हातकी सल्लाहकार तथा बेलबारी नगर कार्यपालिका सदस्य खिना थापाले भनिन्, ‘छेउमा जानै नसकिने अवस्था थियो ।’ लिम्बूको उपचारका लागि ती २ संस्थाले १ लाख ६६ हजार ५ सय १ रुपैयाँ संकलन गरेका थिए ।

उनको उपचारमा २९ हजार ३ सय ८० रुपैयाँ खर्च भएको थापाले बताइन् । बाँकी रहेको १ लाख ३७ हजार १ सय २१ रुपैयाँ सन्तबहादुरकी छोरी निशाको नाममा बैंकमा जम्मा गरिदिने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ताप्लेजुङमा जन्मिएका लिम्बू वि.स. २०६० सालदेखि बेलबारी–२ मा बसोबास गर्दै आएका छन् । उपचारपछि लिम्बू बोल्न र हिँड्न सक्ने भएको भाउजू कविताले बताइन् ।