महेन्द्रनगरः  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका छन् । 
महेन्द्रनगरमा पार्टीले संचालन गरेको जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका हुन् । पुर्व प्रधानमन्त्री रहेका नेपालले अर्थतन्त्र सुधार नहुँदा मुलुकमा रोजगारी नभएको र युवा जनशक्ति विदेशीनुपर्ने, त्यहाँबाट लाश मात्रै नेपाल आउन लागेको विषय कोट्याए ।
अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले भ्रष्टाचार उन्मुलन, सुशासन,  सार्वजनिक सेवा प्रवाहमा दु्रतताका साथै कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । पछिल्ला दिनहरुमा केही समुहले सबै पार्टी र नेतालाई उस्तै हुन भनेर दुष्प्रचार गरिरहेको भन्दै सबै उस्तै नभएको बताए । 
अध्यक्ष नेपालले समाजवादीले संचालन गरेको अभियानले जनताका प्रत्यक्ष पिरमर्का बुझ्दै पार्टीलाई जनतासँग जोड्ने बताए । नेता नेपालले कुनैदिन नेपालले कृषि बस्तु तथा सेवा विदेशमा निर्यात गरेपनि अहिले विदेशमा युवा जनशक्ति पठाउने, त्यसमा पनि उताबाट शव मात्रै आउने विडम्बनाको अन्त्य गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको बताए । ‘जनताका अपेक्षा के छन्, विद्यमान अवस्थामा जनता केह चाहन्छन् । त्यो विषय हामीले अभियानका दौरानमा लिएका छौँ’, नेपालले भने, ‘अभियानले मुलुकको मुहार फेर्न महत्वपुर्ण भुमिका प्रवाह ।’ 
सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै अर्थतन्त्र सुधार आवश्यक रहेको बताए । नेता नेपालले पछिल्ला दिनहरुमा राजनीति प्रति निरासा जागेको बताउँदै दलप्रति विश्वास दिलाउन पार्टीलाई जनतासंग जोड्नका लागि पुर्वदेखि पश्चिमसम्म जागरण अभियान थालिएको बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थतन्त्र सुधारका लागि स्वदेशमै रोजगारी सिर्जना कृषि र उर्जामा लगानी विस्तार आवश्यक रहेको औल्याए ।
नेता भुसालले अर्थतन्त्रकै कारण मुलुक थप संकटमा पर्दै गएको र त्यसको उपज एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । मुलुकलाई समाजवाद उन्मुख बनाउन सबै कम्युनिष्ट एकजुट भएको तर ओलीले आफ्ना लागि बाटो बिराएपछि मुलुकमा विभिन्न थरीथरीका समस्या आईलागेको बताए । जात, धर्म, क्षेत्रमा नाममा भईरहेका बेतिथि ओलीका मानसपुत्र भएको भुसालको दावि छ । 
 शनिबार कञ्चनपुर प्रवेस गरेको समाजवादी जागरण यात्रा अन्तर्गत जिल्लाको दक्षिणी क्षेत्र पुनर्बास प्याराताल सीमा, पुनर्बास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी हुँदै महेन्द्रनगर पुगेको थियो ।

अभियान अन्तर्गत जिल्लाका सीमा समस्या, आरक्षपीडित, भूमिहिन सुकुमबासी, मुक्त कमैया, हलिया सहितका समस्या बारे उठान गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीका पुर्व एसएसपी घनानन्द भट्ट सहितले समाजवादी प्रवेस गरेका छन् ।  अभियानमा जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।