कैलालीः नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ ।

शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले पार्टी दुस्खी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले सरकारले कमाउँदै पढ्ने वातावरण नेपालमै बनाउन नसकेकोले यस्तो अवस्था आएको र आगामी दिनमा यस्तो परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय प्रमुख शुशील मृतक विद्यार्थीका परिवारलाई राहत उपलब्ध गराउन सहयोगका लागि पार्टी नेतृत्वसँग आग्रह गरे । हमास विद्रोहीको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल उद्धारका लागि कुटनीतिक भूमिका निभाउन पनि उनले माग गरे ।

आफ्नो मातृ पार्टीको मेची-महाकाली समाजवादी जागरण अभियानमा सहभागी अनेरास्ववियूले अभियानकै क्रममा टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको केन्द्रीय कार्यालय सदस्य मिलन राईले जानकारी दिए ।